अम्पायरको कारण भारतले जित्यो, बंगलादेशकी प्रधानमन्त्री यसो भन्छिन्...
बंगलादेशकी प्रधानमन्त्री शेख हसिना |
बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले अम्पायरको कारणले बंगलादेश विश्वकप क्रिकेटमा पराजित भएको आरोप लगाउनुभएको छ । उहाँले अम्पायरले गर्दा नै भारतले बंगलादेशलाई क्वाटर फाइनलमा हराएको दावी पनि गर्नुभयो । ‘अम्पायरले गलत निर्णय गर्दैन थिए भने भारतले बंगलादेशलाई हराउन सक्ने थिएन ।’ उहाँले भन्नुभयो । बंगलादेश भारतसँग १ सय ९ रनले पराजित हुँदै विश्वकपको क्वाटर फाइनलबाट बाहिरिएको थियो । यो खेलमा १ सय ३७ रन बनाएका रोहित शर्मालाई ९० रन बनाएको बेला बंगलादेशी खेलाडीले क्याच आउट गरेका थिए । तर अम्पायरले नो बल भन्दै आउट दिएका थिएनन् ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसीका अध्यक्ष मुस्ताफा कमलले पनि अम्पायरले मिलेर गलत निर्णय गरी बंगलादेशलाई हराएको प्रतिक्रिया दिनुभएको थियो । मेलबर्नमा बंगलादेशी पत्रकारसँग कुरा गर्दै कमलले भारत र बंगलादेशबीचको खेलमा अम्पायरले पहिला ने भारतलाई जिताउने तय गरेको आरोप लगाउँदै यसबारेमा आफूले आइसिसीको बैठकमा कुरा उठाउने बताउनुभएको थियो । आइसिसीका अध्यक्ष कमल बंगलादेशकै हुनुहुन्छ । तर आइसिसीले भने कमलको विचार व्यक्तिगत भनेको छ । अम्पायरको निर्णयप्रति औंला उठाएका कारण उहाँमाथि आइसिसीले अनुशासनको कारवाही पनि गर्न सक्ने छ । तर कमलले भने आफू पदबाटै राजिनामा दिन पनि तयार रहेको भन्दै अम्पायरहरुको आलोचना गर्नुभयो ।
Comments
Post a Comment