अबका विश्वकपमा देख्न नपाइने क्रिकेटर...


लामो समय एक दिवसीय क्रिकेट खेलेका खेलाडी सन्यासका लागि विश्वकप क्रिकेट प्रतियोगिता पर्खिरहेका हुन्छन् । विश्वकप क्रिकेट प्रतियोगितामा सहभागिता जनाइसकेपछि सन्यास लिने खेलाडीको संख्या विश्वकप २०१५ मा समेत धेरै छ । विश्वकपपछि सन्यास लिने खेलाडी को को छन त ?

१. कुमार सांगाकारा (श्रीलंका)
कुमार सांगाकारा यो विश्वकपमा निकै लयमा देखिए । एक दिवसीय क्रिकेटमा लगातार चार सतक प्रहार गर्ने पहिलो खेलाडीको कीर्तिमान उनले यसै विश्कपमा बनाए । ३७ वर्षका सांगाकारा विश्वकप क्रिकेटमा सर्वाधिक ब्याट्सम्यानलाई आउट गर्ने विकेट किपरको सूचिमा समेत आफ्नो नाम लेखाउन सफल भएका छन् । आफ्नो टोली श्रीलंकाले क्वाटरफाईनलसम्मको यात्रा तय गर्दा सांगाकाराले यस विश्कपमा चार सतक सहित दोस्रो सर्वाधिक रन बनाए र विश्वकपमा श्रीलंका बाहिरिएसँगै उनले एक दिवसीय क्रिकेटबाट सन्यासको समेत घोषणा गरे । ४ सय ४ एक दिवसीय खेले खेलेका सांगाकाराले ४२ को औसतमा १४ हजार २ सय ४३ रन बनाएका छन् । जुन एक दिवसीय क्रिकेटमा दोस्रो सर्वाधिक रन हो । अघिल्लो वर्ष विश्वकपको उपाधिसँगै ट्वेन्टी–ट्वेन्टी क्रिकेटबाट सन्यास लिएका सांगाकारा अब अन्तर्राष्ट्रिय स्तरको टेष्ट क्रिकेटमा मात्र देखिनेछन् ।

२. माहेला जयबर्द्भने (श्रीलंका)
एक दिवसीय र टेष्ट क्रिकेट दुवै प्रकारको क्रिकेटमा सफल मानिएका जयबर्द्भने आफ्नो करियरको अन्तिम विश्वकपमा भने सफल हुन सकेनन् । विश्वकपमा दक्षिण अफ्रिका विरुद्धको क्वाटरफाइनल खेलपछि एक दिवसीय क्रिकेटबाट सन्यास लिएका जयबर्द्भनेले यो विश्वकपमा ५ इनिङमा २५ को औसतले १ सय २५ रन मात्र बनाउन सके । आफ्नो एक दिवसीय करियरमा ४ सय ४८ खेल खेलेका जयबर्द्भनेले ३३ दशमलव ३७ को औसतमा १२ हजार ६ सय ५० र १ सय ४९ टेष्टमा ४९ दशमलव ८४ को औसतमा ११ हजार ८ सय १४ रन बनाएका छन् । अघिल्लो वर्ष विश्वकपको उपाधिसँगै ट्वेन्टी–ट्वेन्टी क्रिकेटबाट सन्यास लिएका जयबद्र्धने पनि अब अन्तर्राष्ट्रिय स्तरको टेष्ट क्रिकेटमा मात्र देखिनेछन् ।

३.शहिद अफ्रिदी  (पाकिस्तान)

एक दिवसीय क्रिकेटमा सनसनिपूर्ण सुरुवात गरेका पाकिस्तानी क्रिकेटर शहिद अफ्रिदीले पनि यो विश्वकपबाट सन्यास लिएका छन् । सन्  १९९६ मा केन्या विरुद्धको खेलबाट एक दिवसीय र सन् १९९८ मा अष्ट्रेलिया विरुद्ध टेष्ट क्रिकेट खेल्न सुरु गरेका अफ्रिदी पछिल्लो समय भने बलरको रुपमा उदाएका थिए । एक दिसीय क्रिकेटमा सबै भन्दा छिटो सतक बनाउने खेलाडीको रुपमा झण्डै डेढ दशकसम्म आफ्नो नाम लेखाउन सफल भएका अफ्रिदीले यो विश्वकपमा भने राम्रो खेल प्रर्दशन गर्न सकेनन । ३ सय ९८ एक दिवसीय खेल खेलेका अफ्रिदीले २४ को औसतमा ८ हजार ६४ रन र ३ सय ९५ विकेट लिएका छन । त्यस्तै २७ टेष्टमा अफ्रिदीले १७ सय १६ रन र ४७ विकेट लिएका छन् । टेष्टबाट यसअघि नै सन्यास लिइसकेका अफ्रिदी अब ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा मात्र देखिने छन् ।

४. मिसवाह उल हक (पाकिस्तान)
विश्वकपमा पाकिस्तान क्वाटरफाइनलबाट आउट हुँदासम्म क्याप्टेन थिए मिसवाह उल हक । उनले पनि यो विश्वकपपछि एक दिवसीय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । एक दिवसीय क्रिकेटमा एक सतक पनि प्रहार नगरी ५ हजार रन पार गरेका हकले यो विश्वकपमा ५० को औसतमा ४ अर्धसतक सहित ३ सय ५० रन बनाए । १ सय ६२ एक दिवसीय क्रिकेट खेलेका मिस वाले ४३ दशमलव ४ को औसतमा ५ हजार १ सय २२ रन बनाएका छन् । मिसवाहले सन् २००१ मा टेष्ट तथा सन् २००२ मा एक दिवसीय क्रिकेटमा न्युजिल्याण्ड विरुद्ध डेब्यू गरेका थिए । त्यस्तै ५३ टेष्ट खेलेका उनले ४९ दशमलव १५ को औसतमा ३ हजार ७ सय ३६ रन प्रहार गरेका छन् ।  

५. माईकल क्लार्क (अष्ट्रेलिया)
अष्ट्रेलियाका कप्तान माईकल क्लार्कले विश्वकपको उपाधिसँगै एक दिवसीय क्रिकेटबाट सन्यास लिएका छन् । लामो समयदेखि पिठ्यूँमा चोटको समस्या झेल्दै आएका क्लार्कले यस विश्वकपमा ७ खेल खेलेका उनले ६ इनिङमा ३६ दशमलव ५ को औसतमा २ सय १९ रन बनाए । उनले फाइनल खेलमा महत्वपुर्ण ७४ रन बनाए ।  क्लार्कले सन् २००३ मा इंग्ल्याण्ड विरुद्ध वन डे र सन्  २००४ मा भारत विरुद्ध टेष्ट क्रिकेटमा डेब्यू गरेका हुन् । १३ वर्षको वन डे करियरमा ३३ वर्षका क्लार्कले २ सय ४५ वन डे क्रिकेटमा ४४ दशमलव ५८ को औसतमा ७ हजार ९ सय ८१ रन बनाएका छन् । त्यसैगरी  १ सय ८ टेष्ट खेलेका क्लार्कले ५० दशमलव ७९ को औसतमा ८ हजार ४ सय ३२ रन बनाएका छन् । क्लार्कले अन्तर्राष्ट्रिय टेष्ट क्रिकेट भने खेल्नेछन् ।

६.डेनियल भिटोरी (न्यूजिल्याण्ड)
लामो समयसम्म न्युजिल्याण्ड टोलीको स्पिन आक्रमण सम्हालेका डेनियल भिटोरीले यसै विश्वकपको फाइनल खेलेसँगै एक दिवसीय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । एघारौ संस्करणको विश्वकपमा भिटोरीले ९ खेलमा २० दशमलव ४६ को औसतले १५ विकेट तथा ६ इनिङमा २५ को औसतले ५० रन बनाए । सन् १९९७ मा श्रीलंका विरुद्ध एक दिवसीय र इंग्ल्याण्ड विरुद्ध टेष्ट क्रिकेटमा डेब्यू गरेका ३६ वर्षका भिटोरीले २ सय ९५ एक दिवसी खेलमा ३ सय ५ र १ सय १३ टेष्टमा ३ सय ६२ विकेट लिएका छन् । पछिल्लो समय अलराउण्डर प्रर्दशन गर्दै आएका भिटोरीले टेष्ट क्रिकेटमा ३० को औसतमा ६ सेन्चुरी सहित ४५ सय ३१ र एक दिवसीय क्रिकेटमा १७ को औसतमा २२ सय ५३ रन बनाएका छन् ।

७.ब्रेण्डम टेलर (जिम्बावे)
समूह चरणबाटै जिम्बाबे बाहिरिए पनि विश्वकपमा उत्कृष्ट ब्याटिङ गरेका जिम्बाबेका ब्रेण्डम टेलरले पनि अन्तर्राष्ट्रिय क्रिकेटबाट कम्तिमा ३ वर्षका लागि बिदा लिएका छन् । जिम्बाबेका लागि अन्तिम खेलका रुपमा भारत विरुद्ध खेलेका टेलरले यस विश्वकपमा दुई सतक र एक अर्धसतक प्रहार गरे । उनले खेलेका ६ खेलमा ७२ को औसतमा कुल ४ सय ३३ रन बनाए । १ सय ६ को स्ट्राईक रेटमा ब्याटिङ गरेका टेलर सर्वाधिक चौका प्रहार गर्ने खेलाडीको सूचिमा समेत सातौं स्थानमा रहे । सन् २००४ मा श्रीलंका विरुद्ध टेष्ट र एक दिवसीय दुवै क्रिकेटमा डेब्यू गरेका टेलरले १ सय ६७ एक दिवसीय खेलमा ३४ दशमलव ८२ को औसतमा ८ सतक सहित ५२ सय ५८ रन बनाएका छन् । २९ वर्षका टेलरले २३ टेष्टमा ३४ दशमलव ७२ को औसतमा १४ सय ९३ रन बनाएका छन् ।

Comments

Popular posts from this blog

Brazil Won by 2 Goal over Mexico with Nil Goal

Brazil leading by 2 goals