गुप्टिलले.. ४० बर्षमा बनेको कीर्तिमान २७ दिनमै तोडे


 त्यसमा पनि क्रिकेट जहाँ जे पनि सम्भव हुन्छ भनिन्छ । तर, वेष्ट इण्डिजका क्रिस गेलले २ सय १५ रन बनाएर राखेको विश्व कीर्तिमान महिना दिन पनि नबित्दै तोडिएला भनेर कमैले सोचेका हुनुपर्छ ।

किनकी एक्लैले २ सय रनको खड्गो काट्नु चानचुने कुरा होइन । नत्र दोहोरो शतक हेर्न विश्वकपको ११ औं संस्करणसम्म कुर्नुपर्ने थिएन । तर संयोग कस्तो भयो भने ४० वर्षसम्म बन्न नसकेको दोहोरो शतक यहि विश्वकपमा दुईपटक बनिसके । (अझै थपिन सक्ने सम्भावना पनि छ)

सन् १९९६ मा दक्षिण अफ्रिकाका गेरि क्रिष्टेनले १ सय ८८ रन बनाउँदै विश्वकपमा सर्वाधिक रन बनाउने कीर्तिमान बनाएका थिए । पाकिस्तान भारत र श्रीलंकाले संयुक्त रुपमा आयोजना गरेको त्यो विश्वकप अन्तर्गत संयुक्त अरब इमिरेट्सविरुद्ध पाकिस्तानको रावलपिण्डीमा भएको खेलमा क्रिष्टेनले बनाएको यो रेकर्ड १९ बर्षसम्म रह्यो । त्यसको ठ्याक्कै १९ बर्ष ८ दिनपछि क्रिस गेलले दोहोरो शतक पुरा गरेका थिए । तर गेलको कीर्तिमान २७ दिनमै तोडियो ।

जारी विश्वकपको अन्तिम क्वाटरफाइनलमा वेष्टइण्डिजविरुद्ध मैदान उत्रिंदा न्युजिल्याण्डका ब्रेण्डन म्याकुलमकै ब्याट चम्किने आशा धेरैलाई थियो । केहिले रोज टेलर वा कोरे एण्डरसनले सनसनी मच्चाउने अनुमान गरेका थिए । प्रतियोगितामा औसत मात्र खेलिरहेका मार्टिन गुप्टिलमा चाहिं कसैको पनि आशा थिएन । यो प्रतियोगिताको आफ्नो पहिलो खेलमा श्रीलंकासँग आउट हुँदा मार्टिन गुप्टिल निक्कै चुक्चुकाएका थिए । सुरंगा लकमलको बलमा कुमार सांगाकाराबाट समातिनु अघि उनले ४९ रन बनाएका थिए । सकेसम्म शतक र नसके अर्धशतक हरेक ब्याट्स्म्यानको सपना जो हो ।

तर, यो अपशोच ब्यहोरेको ठ्याक्कै ५ हप्तापछि गुप्टिलले यस्तो खुशी पाए जसले उनलाई चर्चाको शिखरमा पुर्‍याइदिएको छ । वेष्टइण्डिज विरुद्ध शनिबार उनले बनाएको नटआउट २ सय ३७ रन विश्वकप क्रिकेटको एकै खेलमा बनेको सवैभन्दा धेरै रन हो । जारी विश्वकपका सुरुका ६ खेलबाट २ सय ६१ रन बटुलेका गुप्टिलले एकै खेलबाट २ सय ३७ रन बनाए । जारी विश्वकपमा उनले बंगलादेशविरुद्ध शतक (१ सय ५ रन) र अफगानिस्तानसँग अर्धशतक (५७ रन) बनाएका थिए ।
इतिहास र बर्तमान

क्रिकेटको स्वरुप फेरिँदो छ । टेष्ट मात्र होइन ५० ओभरको खेलकै भविष्यमाथि अनेकौ आशंका भइरहेका बेला ब्याट्स्म्यानहरु आक्रामक खेल्न थालेका छन् जसले गर्दा एकदिवसीयमा ३ सयको हाराहारी रन बन्नु सामान्य जस्तो हुन थालेको छ । जारी विश्वकपमा पनि ब्याट्स्म्यानले त्यो आक्रामक छवि देखाइरहेका छन् ।

विश्वकप क्रिकेटको पहिलो संस्करणको पहिलो खेलमा भारतका सुनिल गावास्कर पनि सुरुदेखि अन्त्यसम्म टिकेका थिए । इंग्ल्याण्डविरुद्धको त्यो खेलमा १ सय ७४ बलको सामना गरेका गावास्करले नटआउट ३६ रन बनाएका थिए । गावास्करको त्यो खेललाई अहिले पनि ब्यक्तिगत रुपमा रद्दी उदाहरणका रुपमा लिइन्छ ।

तर वेष्ट इण्डिजविरुछ मार्टिन गुप्टिलले गावास्तकरको भन्दा १ सय ६३ बलको सामना गरे र २ सय ३७ रन बनाए । जसमा ११ छक्का र २४ चौका सामेल थिए । गुप्टिलले ३ घण्टा ४३ मिनेट क्रिजमा बिताए । तर उनको स्टामिना अन्तिम मिनेटसम्म पनि उस्तै देखिन्थ्यो । संयोग कस्तो पर्यो भने न्युजिल्याण्डको इनिङको सुरु र आखिरी दुवै बल गुप्टिलले नै सामना गरे । वेष्ट इण्डिजका जेरोमी टेलरको बलमा चौका हानेर सुरु गरेको इनिङ गुप्टिलले अन्तिम बलमा एण्ड्रयू रसेलको बलमा दुई रन लिदै टुंग्याएका थिए । यस्तो दुर्लभ अवसर थोरैमात्र ब्याट्स्म्यानले पाउँछन् ।

गुप्टिल दोहोरो शतकभन्दा एक रनमात्र टाढा भएको बेला खेलको प्रत्यक्ष प्रसारण गरिरहेको टिभीमा कमेन्टेटरहरु अनुमान गर्दै थिए गुप्टिलले टुक्क एक रन लेलान् कि ठुलो सट खेल्लान् ? कमेन्टेटरको अनुमान थियो उनले टुच्च एक रन लिएर दोहोरो शतक पुरा गर्नेछन् । तर गुप्टिल एक रन बटुलेर आफ्नो स्कोर र क्षमता खुम्च्याउने पक्षमा थिएनन् । जव उनले त्यो बलमा पनि चौका हाने । उपस्थित हज्जारौ घरेलु दर्शकको तालि, सिठ्ठी र नाराबाजीले स्टेडियम जुरुक्क उचालियो । दर्शक एकअर्कालाई अंकमाल र चुम्बन गर्न थाले ।
अमृतले ६ रनमै आउट गरेका थिए गुप्टिललाई

मार्टिन गुप्टिलको विष्फोटक ब्याटिङ्ग हेर्दा नेपाली बलर अमृत भट्टराईले पनि उनलाई सम्झिए । किनभने गुप्टिललाई ९ बर्ष अघि अमृतले ६ रनमा एलबिडब्लु आउट गरेका थिए ।

सन् २००६ को फेब्रुअरी १८ मा यु १९ विश्वकपको प्लेन च्याम्पियनससिपको फाइनलमा नेपालविरुद्ध ६ रन बनाउँदा गुप्टिल आउट भएका थिए । यो खेल जित्नै नेपाल प्लेट च्याम्पियन बनेको थियो । त्यो खेलमा गुप्टिलले नेपालका २ विकेट लिएका थिए । उनले शशी केशरी र यसवन्त सुवेदीलाई आउट गरेका थिए ।
चर्चामा नआउने

गुप्टिल राम्रो खेलाडी भएपनि चर्चामा कहिल्यै आउँदैनन् । यसको एउटा उदाहरण हो उनी ट्वेन्टी ट्वेन्टी क्रिकेटमा हजार रन बनाउने न्युजिल्याण्डका दोश्रो खेलाडी हुन् तर पनि उनले विश्वकै लोकप्रिय र राम्रो कमाइ हुने आइपिएल क्रिकेट खेल्न पाएका छैनन् ।

तर अब उनलाई नसम्झिएर धरै छैन । विश्वकप क्रिकेटमा सवैभन्दा धेरै र समग्र एकदिवसीयमा दोश्रो धेरै रन बनाउने खेलाडी अब मार्टिन गुप्टिल बनेका छन् । यतिमात्र होइन समग्र एकदिवसीयमा दोहोरो शतक बनाउने पाँच खेलाडीमा पनि अब उनी अटाएका छन् ।
र यो पनि......

कीर्तिमानी ब्याट्स्म्यान मार्टिन गुप्टिलले दुर्घटनामा परेर खुट्टाका ३ वटा औला काटिएका छन् । १३ बर्षको हुँदा दुर्घटनामा परेपछि गुप्टिलका देब्रे खुट्टाका ३ औंला गुमाउनुपरेको थियो ।

Comments

Popular posts from this blog

TU scraps connection to National Medical College

Brazil leading by 2 goals