एसियन भारोत्तोलन नेपालमा....

प्रतियोगितामा एसियाका ३० देखि ३५ राष्ट्रका करिब तीन सय ५० देखि चार सयजना खेलाडी सहभागी हुने जानकारी भारोत्तोलन संघका अध्यक्ष रतन टण्डनले दिए। उनका अनुसार गत फेब्रुअरीमा प्रतियोगिता आयोजना गर्ने नेपालको प्रस्ताव एसियाली भारोत्तोलन महासंघले स्वीकार गरेको हो।
नेपालमा भारोत्तोलनलाई पदकीय दृष्टिकोणले महत्त्वपूर्ण खेल मानिन्छ। नेपालले दक्षिण एसियाली खेलकुद (साग) मा भारोत्तोलनमा चार रजत र १० वटा कांस्यपदक जितेको छ, जुन अन्य खेलको तुलनामा सबैभन्दा बढी हो।
एसियाली प्रतियोगिताको कुल बजेट एक करोड ४२ लाख १२ हजार रुपैयाँ रहेको जानकारी पनि रतनले दिए। उक्त रकममध्ये १० प्रतिशत रकम प्रतियोगितामा सहभागी हुने खेलाडीको प्रवेश शुल्कबाट, ४५ प्रतिशत रकम प्रायोजकबाट र बाँकी ४५ प्रतिशत रकम राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट प्राप्त हुने उनले बताए।
रतनका अनुसार प्रतियोगिताका लागि एसियन भारोत्तोलन महासंघ तथा संघको पहलमा चीनको जेटकेसी कम्पनीबाट करिब ८६ हजार अमेरिकी डलरबराबरको भारोत्तोलन खेलसामग्री उपलब्ध गराउने व्यवस्था मिलाइएको छ।
उक्त रकममध्ये अन्तर्राष्ट्रिय भारोत्तोलन महासंघले सात हजार पाँच सय, एसियन भारोत्तोलन महासंघले १० हजार, एसियन भारोत्तोलन महासंघका अध्यक्ष मोहम्मद युसिफ अल मानाबाट व्यक्तिगत रूपमा पाँच हजार र कम्पनी स्वयम्ले ४३ हजार पाँच सय डलर व्यहोर्ने बताइएको छ। बाँकी रहेको २० हजार डलर भने राष्ट्रिय खेलकुद परिषद्बाट अनुदान प्राप्त भएको छ।
दक्षिण एसियाली भारोत्तोलन महासंघका उपाध्यक्षसमेत रहेका रतनका अनुसार ती खेलसामग्री १५ दिनभित्र काठमाडौं आइपुग्ने छन्। संघका महासचिव पार्थ सारथि सेन गुप्ताले प्रतियोगितामा महिलातर्फ ४८, ५३, ५८, ६३, ६९, ७५ र ७५ केजीभन्दा माथि गरी सातवटा तौल समूह समावेश हुनेछ।
यसैगरी पुरुषतर्फ ५६, ६२, ६९, ७७, ८५, ९४, १०५ र १०५ केजीभन्दा माथिको गरी आठवटा तौल समूह समावेश गरिनेछ। पार्थले नेपालको सहभागिता पदकका लागि भन्दा पनि अनुभव र शिक्षाका लागि हुने बताए।
प्रतियोगितामा महिलातर्फ २१ स्वर्ण, २१ रजत र २१ कांस्य गरी कुल ६३ तथा पुरुषतर्फ २४ स्वर्ण, २४ रजत र २४ कांस्य गरी ७२ पदकका लागि खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।
'प्रतियोगितामा विश्व कीर्तिमान पनि बन्ने सम्भावना छ,' पार्थले भने। लन्डन ओलम्पिकलाई आधार मान्ने हो भने १५ स्वर्णमध्ये १३ स्वर्ण एसियाका खेलाडीले नै जितेका थिए।
पार्थका अनुसार यति धेरै देशले भाग लिने यो नेपालको खेलकुद इतिहासकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो। प्रतियोगिता नेपाली सेनाको फिजिकल ट्रेनिङ एन्ड स्पोर्टस क प्लेक्स लगनखेलमा हुनेछ।
आइतबार नै आयोजित कार्यक्रममा राखेपका सदस्यसचिव युवराज लामाले प्रतियोगिताको लोगो र आधिकारिक वेभसाइट पनि सार्वजनिक गरे। सदस्यसचिव लामाले देशमा खेलकुदको वातावरण अझ प्रभावकारी बनाउन पनि प्रतियोगिता सफल हुने विश्वास व्यक्त गरे।
प्रतियोगिताको अवसर पारेर एसियन भारोत्तोलन महासंघको कंग्रेस, विभिन्न समितिको बैठक र शिक्षामूलक कार्यक्रम पनि आयोजना गरिने बताइएको छ। कार्यक्रममा नेपाल भारोत्तलन संघका उपाध्यक्ष एवं ओलम्पियन सुनिल जोशीले नेपालको इतिहासमा उक्त प्रतियोगिता कोसेढुंगा सावित हुने धारणा व्यक्त गरे।
Comments
Post a Comment