विवादपछि क्यानमा सिइओ पद रिक्त...


काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीबीच तीव्र विवाद भएपछि मंगलबारदेखि प्रमुख कार्यकारी अधिकृत (सिइओ)को पद रिक्त भएको छ।

सिइओ भावना घिमिरेको ६ महिने परीक्षणकाल सोमबार नै सकिएको थियो। तर, सोमबार नै बसेको क्यान बोर्ड बैठकले घिमिरलाई न हटाउने निर्णय गर्‍यो न त समय थप्ने निर्णय। योसँगै क्यान पुन: विवादमा पर्ने देखिएको छ।

स्रोतका अनुसार बोर्डका केही पदाधिकारीले केही महिनाका लागि भावनालाई राख्नुपर्ने मत राखेका थिए। केही पदाधिकारी भने घिमिरेले आफूलाई नटेरेको, पदाधिकारीका विषयमा एसियाली क्रिकेट काउन्सिल (एसिसी) र अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)लाई कुरा लगाएको भन्दै रुष्ट देखिएका छन्। 

बोर्ड बैठकमा धेरै पदाधिकारीले हस्ताक्षर गर्न नमानेपछि लिखित निर्णय हुन नसकेको हो। बोर्ड बैठकले कार्य सम्पादनलाई यसबारे निर्णय गर्न निर्देशन दिएको छ। कार्य सम्पादन बैठक बुधबार बस्ने भनिए पनि सोही दिन क्यानमा सिइओ पद रिक्त भइसक्नेछ।

'बैठकमा आवश्यक कोरम पनि पुगेको थियो। छलफलमात्र भयो तर निर्णय हुन सकेन', क्यानका कार्यवाहक महासचिव उत्तम कर्माचार्यले भने। 

उनले आगामी बैठकमा यसबारे निर्णय हुने बताए। त्यसो भए बुधबारदेखि क्यानमा सिइओ पद रिक्त हुने भयो हैन? भन्ने जिज्ञासामा कर्माचार्यले भने, 'अर्को निर्णय नहुँदासम्म त्यस्तै हुन्छ होला।'

स्रोतका अनुसार बोर्ड बैठकमा केही पदाधिकारीले आइसिसीले समेत प्रशंसा गरेको भन्दै तत्काल भावनालाई पदबाट हटाउन नहुने अडान लिएका थिए। 

भर्खरैमात्र बलले लागेर निधन भएका अस्ट्रेलियन क्रिकेट फिलिप ह्युजको श्रद्धाञ्जलि खेलमा सहभागी हुन आएका आइसिसीका ग्लोबल डेभलपमेन्ट म्यानेजर टिम एन्डर्सन, अस्ट्रेलियन क्रिकेट बोर्डका अध्यक्ष वेल्ली एडवार्डस्ले घिमिरेको प्रशंसा गरेका थिए।

आइसिसी र एसिसीले कडा चेतावनीसहित सहयोग पनि रोक्का गरेपछि क्यानले ६ महिनाअघि खुला प्रतिस्पर्धामार्फत सिइओका रूपमा घिमिरेलाई नियुक्त गरेको थियो।

तर, कसलाई नियुक्त गर्ने भन्ने विषयमा बोर्ड पदाधिकारीबीच नै विवाद भएपछि अन्तर्वार्ता भएको धेरै सातासम्म निर्णय हुन सकेको थिएन। 

क्यानमा सिइओको कार्यकाल कति हुने भन्नेमा विधानत: कुनै व्यवस्था छैन। 'क्यानको आगामी साधारणसभामा यसबारे निर्णय हुनेछ', कार्यवाहक महासचिव कर्माचार्यले भने।

Comments

Popular posts from this blog

Fixtures, ICC WCL Div- 2, 2015

Bayern manager Pep Guardiola calls Lionel Messi the 'best player of all time