एकदिवसीय राष्ट्रिय प्रतियोगितामा नयाँ टोली बन्‍ने...

१२ शनिबार बैशाख २०७२, काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) ले गत एकदिवसीय राष्ट्रिय प्रतियोगिताका आधारमा एकदिवसीय र टिट्वेन्टी राष्ट्रिय टोली बनाउने भएको छ।

 शनिबारदेखि हुने भनेको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट नहुने भएपछि र टिट्वेन्टी राष्ट्रिय प्रतियोगिता पनि गर्न सम्भव नभएपछि क्यानले यस्तो तयारी गरेको हो।

केही साताअघि सकिएको एकदिवसीय राष्ट्रिय प्रतियोगिताका आधारमा क्यानले ५० खेलाडीलाई प्रारम्भिक छनोट गर्न लागेको छ।

नेपालले आगामी जुन १० र १२ मा एकदिवसीय स्वरूपको आइसिसी वल्र्ड क्रिकेट लिग डिभिजन च्याम्पियनसिप खेल खेल्दै छ। त्यसैगरी जुलाईको पहिलो सातादेखि आयरल्यान्ड र स्कटल्यान्डमा टिट्वेन्टी विश्वकप छनोट प्रतियोगिता खेल्दैछ।

यी दुवै प्रतियोगिताका लागि एकदिवसीय र टिट्वेन्टी दुवै राष्ट्रिय प्रतियोगिता गरी ५० जना खेलाडीलाई प्रारम्भिक छनोट गर्ने कार्यक्रम थियो।

'एनपिएल नभएपछि र टिट्वेन्टी पनि तत्काल गर्न सम्भव नभएपछि अब एकदिवसीय राष्ट्रिय प्रतियोगिताकै आधारमा ५० जना खेलाडीलाई प्रारम्भिक छनोट गर्न लागिएको छ' क्यान स्रोतले भन्यो।

स्रोतका अनुसार ५० खेलाडीलाई छनोट गरी उनीहरूबाट चार वटा टिम बनाइनेछ र उनीहरूबीच एकदिवसीय र टिट्वेन्टी खेल खेलाइनेछ। 'वैशाख २२ देखि २४ गतेसम्म टिट्वेन्टी खेल हुनेछ र वैशाख २६ देखि २९ गतेसम्म एकदिवसीय खेल हुनेछ।

यसपछि डिभिजन च्याम्पियनसिपका लागि १८ खेलाडी छनोट गरिनेछ' स्रोतले भन्यो। नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दासानायकेले क्यानसँग मे १२ गतेसम्म आफूलाई १८ खेलाडी उपलब्ध गराउनुपर्ने भनेका छन्।

क्यानका कार्यवाहक महासचिव उत्तम कर्माचार्यले भने स्कटल्यान्डमा डिभिजन च्याम्पियनसिप खेल खेलेर आएपछि टिट्वेन्टी राष्ट्रिय प्रतियोगिता हुन सक्ने बताए। 'समयले साथ दिएमा हामी टिट्वेन्टी प्रतियोगिता गर्नेछौं' कर्माचार्यले भने।

दुईदिवसीय राष्ट्रिय प्रतियोगिता जेठमा

क्यानले पहिलो पटक हुन लागेको दुईदिवसीय राष्ट्रिय प्रतियोगिता जेठको पहिलो सातादेखि सुरु गर्ने तयारी गरेको छ। युवा तथा खेलकुद मन्त्रालयको कार्यक्रम भएकाले आर्थिक वर्ष बित्ने दबाब भएपछि क्यानले यस्तो तयारी गरेको हो।

क्यानले पहिलो चरणमा चारवटा समूह बनाई विभिन्न तीनवटा ठाउँमा प्रतियोगिता गर्ने तयारी गरेको छ। 'धनगढी, वीरगन्ज र काठमाडौंमा तीनवटा समूहको खेल गर्ने निश्चित भइसकेको छ।

अर्को एक समूहको खेल भैरहवामा गर्ने तयारी भए पनि त्यहाँ सम्भव नभएपछि त्यसको विकल्प खोजिरहेका छौं' स्रोतले भन्यो।

चारवटै समूहको विजेताबीच हुने सेमिफाइनल भने काठमाडौंमा गर्ने निश्चित भइसकेको छ। क्यानले यो प्रतियोगिताका लागि क्षेत्रलाई एकदिवसीय स्वरूपमा छनोट प्रतियोगिता गरेर टोली बनाउन निर्देशन दिएको छ।

प्रतियोगितामा राष्ट्रिय टोलीमा रहने खेलाडीले खेल्न सक्ने सम्भावना कम छ। 'प्रतियोगिताको पहिलो चरणमा उनीहरूले खेल्न सक्ने सम्भावना कम छ। खेली हाले भने काठमाडौंमै हुने सेमिफाइनलदेखि सहभागी हुनेछन्' स्रोतले भन्यो।

अन्तर्राष्ट्रिय क्रिकेटमा राष्ट्रिय टोलीको प्राप्त सफलतासँगै सरकारले आफ्नै खर्चमा हरेक वर्ष दुई दिवसीय स्वरूपको राष्ट्रिय प्रतियोगिता गर्ने निर्णय गरेको थियो।

Comments

Popular posts from this blog

Bayern manager Pep Guardiola calls Lionel Messi the 'best player of all time

I would pay to watch AB de Villiers and Mitchell Starc: David Warner