अन्तिम ओभरको रोमाञ्च (फोटोफिचर)


अन्तिम ओभरको रोमाञ्च (फोटोफिचर)

चेन्नई, चैत्र: गए राति चेन्नइको एमए चिदम्बरम स्डेडियममा चलिरहेको यो सिजनको दोस्रो आइपिएल खेल अन्तिम ओभरतिर जाँदै थियो । क्रिजमा ब्याटिंग गर्दै थियो, दिल्ली डेयरडेविल्स र बलिङ आक्रमण गर्दै थियो घरेलु टिम चेन्नइ सुपरकिंग्स । जितका लागि दिल्लीलाई अन्तिम ओभरमा १९ रन आवश्यक थियो । पूरै टिमको भरोसा एल्वी मोर्केलमाथि थियो, जो चेर्न्नईको गर्मीमा पसिनाका धारा बगाउँदै ब्याट समातेर बसेका थिए । 

ब्राभोको पहिलो बलमा नै उनले चौका हाने । दोस्रो बलमा मोर्केलले एउटा गल्ती गरे । उनले १ रन लिएर स्ट्राइक छोडे, र भर्खरै क्रिजमा आएका इमरान ताहिरलाई स्ट्राइक दिए । ताहिर यही बलमा आउट भए । अघिल्लाे ओभरमा यस्तै सानाे गल्तीले अमित मिश्रा रन आउट भएका थिए । ताहिरकाे विकेट जाँदा दिल्लीकाे ९ विकेट गइसकेकाे थियाे । फेरि स्ट्राइकमा आएका मोर्केलले छक्का हाने । अब दिल्लीका अगाडि जितका लागि २ बलमा ८ रन आवश्यक भयो । मोर्केलले २ रन लिए । उनले हानेको तेज बललाई सुरेश रैनाले बाउन्ड्रीमा रोकिदिए, २ रन जोगाए । उनको यही गतिलो फिल्डिङ आखिरमा निर्णायक सावित भयो । 

जितका लागि मोर्केलले छक्का नै हान्नुपर्ने भयो । गर्मी र पसिनाले लखतरान भएका मोर्केलले बललाई हावामा उडाए पनि । तर, केही मिटर वरै 'बाउन्स' भएर मात्र बलले बाउन्ड्री कट्यो । अन्तिम बल चौका भयो । खेल चेर्न्नई सुपरकिंग्सले १ रनले जित्यो । मोर्केलको ७३ रन खेर गयो । जितका लागि १ सय ५१ को लक्ष्य थियो, जसमध्ये करिब आधा रन त मोर्केल एक्लैले जोडेका थिए । 

यो सिजनको पहिलो खेलमा बुधबार कोलकाता नाइट राइर्डसले मुर्म्बई इन्डियन्सलाई हराएको थियो । त्यो खेलमा दुवैतर्फका ब्याट्सम्यान चलेका थिए, बलरले खासै खेल देखाउन सकेका थिएनन् । बिहीबारको खेल भने बलरहरुको थियो । महेन्द्र सिंह धोनीदेखि सुरेश रैना र स्मिथजस्ता ब्याट्सम्यानले भरिएको टिमलाई १ सय ५० मा रोक्नु दिल्लीको ठूलो सफलता थियो । उसका नाथन निलजस्ता बलरले राम्रो खेल देखाएका थिए । तर, दिल्लीका ब्याट्सम्यान चेन्नइका आशिष नेहरा र ब्राभोजस्ता बलरका अगाडि टिक्न सकेनन् । 

'पोस्ट म्याच टिभी एनालिसस'मा यो खेलको पनि 'भिलेन'को खोजी गरियो  । दिल्लीको हारमा मुख्यत दईजनाले दोष पाए, कप्तान जेपी डुमिनी र स्टार ब्याट्सम्यान युवराज सिंह । यो सिजनको 'अक्सन'मा सबभन्दा धेरै १६ करोड बोली लगाएर ल्याएका युवराजले जम्मा ९ रन बनाए । यसमा उनलाई भन्दा बढी दोष कप्तानलाई दिइयो, जसले युवराजजस्तो 'हिटर'लाई छैटौं नम्बरमा ब्याटिङमा उतारेर केही नयाँ खेलाडीलाई अगाडि पठाएका थिए । जसका कारण दस ओभर अघि नै महत्वपूर्ण ३ विकेट ढल्यो । 

थोरै योगफल बनाउँदा पनि खेल जिताएर महेन्द्र धोनीले चाहिँ फेरि एकपटक आफूलाई 'क्याप्टेन कुल' सावित गरे ।

Comments

Popular posts from this blog

Brazil Won by 2 Goal over Mexico with Nil Goal

Brazil leading by 2 goals