नेपाली खेलकुद : २०७१ फर्केर हेर्दा
काठमाडौं, वैशाख १ – अन्तर्राष्ट्रियस्तरका कुनै पनि प्रतियोगितामा उत्साहजनक प्रदर्शन गर्न नसकेको २०७१ सालको नेपाली खेलकुद विवाद, द्वन्द्व, भ्रष्टाचार र कारबाहीका श्रींखलामा रुमलिन पुग्यो ।
जित, उत्साह र सनसनीपूर्ण नतिजाभन्दा पनि बढी खेलकुद संघमा विवाद र आर्थिक अनियमितताको विषय बढी चर्चामा रह्यो । । हार र जितकै चर्चा गर्दा हरेक विवादित विषयमा खेल निकायमा रहेका व्यक्ति र खेल सङ्घका पदाधिकारीमाथि भ्रष्टचारको आरोप लागे त कतै उनीहरूको नैतिकतामाथि बारम्बार प्रश्न उठिरह्यो ।
खेलकुदमा लगानी
पहिलाको तुलनामा खेलाडीको सेवा सुविधामा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले केही राम्रो प्रयास भने गरेको थियो । सरकारले यो वर्ष युवा तथा खेलकुद मन्त्रालयलाई एक अर्ब ४६ करोड रुपैयाँ बजेट छुट्याएको थियो जसमा राखेपमा एक अर्ब २१ करोड रुपैयाँ निकासा भएको थियो । बाँकी २५ करोड रुपैयाँ बजेट खेलकुद मन्त्रालयले राष्ट्रपति रनिङ सिल्ड र युवा कार्यक्रमका लागि छुट्याएको थियो ।
राखेपमा निकासा भएको एक अर्ब २१ करोड रुपैयाँ बजेट विभिन्न किस्तामा आउने गर्छ जसमा कर्मचारी तलब र भत्ताका लागि ३१ करोड, कार्यक्रम र खेलकुद प्रतियोगिताका लागि ११ करोड र बाँकी ७९ करोड निर्माण तथा पुँजीगत खर्चका लागि छुट्टयाइने गरेको राखेपका आर्थिक प्रशासन प्रमुख कमल खनाल बताउनुहुन्छ ।
खेलाडी र खेलका लागि मात्र प्रयोग भएका ११ करोडबाट धेरै आशा गर्न सकिने ठाउँ रहँदैन । राष्ट्रिय टोलीमा रहेका प्रत्येक खेलाडीका लागि राखेपले दिनको २ सय ५० भत्ता दिँदैै आएको थियो । थोरै लगानी र कमजोर संरचनाबीच पनि नेपाली खेलकुद र खेलाडीले मध्यम किसिमको प्रर्दशन गर्दै आइरहेका छन् । यसै वर्ष दक्षिण कोरियाको इन्चोनमा सम्पन्न १७ औं एसियाडमा करातेकी विमला तामाङबाहेका अन्य खेलाडीको लगानी बालुवामा पानी हालेसरह हुन पुग्यो ।
सत्रौं एसियाडमा विवाद र शून्य नतिजा
एसियाडमा नेपालले सहभागिता जनाउनुभन्दा अगाडि नै खेलकुदमा निकै विवाद उत्पन्न भयो । त्यसको एक मात्र कारण थियो युवा तथा खेलकुदमन्त्री र राखेपका सदस्यसचिवबीचको द्धन्द्व । द्वन्द्व यतिसम्म पुग्यो कि एसियाडका लागि दुई समिति त बने नै, झन्डै नेपालले एसियाडमा नै सहभागिता नजनाउने स्थितिसम्म पुग्यो । राज्यको आठ करोड रुपैयाँ भन्दा बढी एसियाडमा लगानी भएको अवस्थामा खेलकुदमा निकै तनावको स्थिति सिर्जना हुनु दुःखद विषय बन्यो ।
एसियाडका लागि दुई सय पाँच खेलाडीलाई राज्यले सूचीकृत गरे तापनि सबै पदकविहीन रहे । सरकारले दिएको कुनै सेवासुविधा उपयोग नगरेकी कराँते खेलाडी विमला तामाङले महिला एकल कातामा कास्य पदक जित्दै नेपाललाई पदकबिहीन हुनबाट बचाइन् । उनलाई प्रशिक्षण गराउने बालाजु कराते डो प्रतिष्ठानका प्रमुख प्रशिक्षक ध्रुवबिक्रम मल्लले उनलाई एसियाडमा सहभागिता गराउन आफ्नो मोटरसाइकल धरौटी राखेको विषय निकै चर्चामा रह्यो ।
एन्फा अध्यक्ष भ्रष्टाचार आरोपमा
अखिल नेपाल फुटबल संघ (एन्फा) मा रहेको ५८ करोडको आर्थिक अनियमितताको विषय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, विश्व फुटबल महासङ्घ (फिफा) र संविधानसभाको सार्वजनिक लेखा समितिसम्म पुग्यो । एन्फा अध्यक्ष थापाप्रति आलोचक देखिएको लेखा समिति यो विषयमा अन्ततः मौन रह्यो भने थापाले अख्तियारबाट सफाइ पाउनुभयो ।
यसवर्ष फिफाले एन्फा अध्यक्ष थापालाई लामो समयदेखि लाग्दै आएको भ्रष्टाचारको आरोपमाथि छानविन गर्न केही समय निलम्बन गरेता पनि पछि थापालाई फिफाकै इथिक कमिटीले फुटबलबाट केही समयको लागि टाढा पुर्याएको थियो । सुरुआतमा १ सय २० दिन फुटबल गतिविधिमा संलग्न नहुन थापालाई निर्देशन गरेको सो कमिटीले त्यो अवधि पूरा हुने बित्तिकै ९० दिनका लागि यसै खाले निर्देशन जारी गर्यो ।
क्रिकेटलाई विश्व लिग डिभिजनको अवसर
नामिवियामा भएको आइसिसी प्रिमियर लिग डिभिजन दुईको खेलमा नेपाल चौथो स्थानमा रह्यो । विश्व क्रिकेट काउन्सिल (आइसिसी) ले पूर्व निर्धारित संरचना परिवर्तन गर्यो । सजसका कारण लिगमा नेपालले चौथो स्थान हासिल गरे पनि प्रतियोगितामा उत्कृष्ट खेल प्रर्दशन गरेको कारण दुई वर्षका लागि विश्व लिग डिभिजन खेल्ने अवसर प्राप्त गर्यो ।
टेनिसमा आसलाग्दो नतिजा
वर्ष २०७१ लनटेनिसअन्तर्गत जुनियर टेनिसमा भने केही सकरात्मक नतिजा हात पार्यो । कतारमा भएको एसियन जुनियर टेनिसमा नेपाल तेस्रो स्थान हात पार्न सफल भयो । भियतनाममा भएको जुनियर प्रतियोगितामा एनी माथेमा सेमिफाइनलमा प्रवेश गरिन् । मलेसियामा भएको विश्व जुनियर एसिया ओसियाना समूहको खेलमा नेपालका इरा राउत र अल्सा रेग्मीको जोडी सेमिफाइनलमा प्रवेश गर्यो । नेपालमा संरक्षक भूषण बज्राचार्य बढुवा हुँदै डिभिजन वानमा प्रवेश पाउन सफल भए ।
युवा गल्फर परियोजनाको सुरुवात
नेपालका व्यवसायिक गल्फरहरूले अन्तर्राष्ट्रिय सहभागितामा राम्रो प्रदर्शन गर्न नसके पनि एमेच्योर खेलाडीहरूको प्रदर्शनमा धेरै सुधार भए । २०७१ सालमा नेपालमा गल्फका केही अन्तर्राष्ट्रिय खेलहरू भए । नेपाल ऐमेच्योर खुला गल्फमा विकास बोगटी व्यक्तिगततर्फ उपविजेता भए भने नेटतर्फ अरुण तामाङ पहिलो भए ।
खेलकुदमा उल्लेखनीय उपलब्धि हासिल हुन नसकेको वर्ष
यस्तै विसं २०७१ मा सम्पन्न अन्य प्रतियोगितामा नेपालले अन्तर्राष्ट्रियस्तरमा सफलता हासिल गर्न नसकेपनि केही खेलाडी व्यक्तिगत प्रदर्शनीका कारण चर्चा बटुल्न सफल भए ।
क्रिकेट–कप्तान ट्ठ पारस खड्का
नेपालमा अन्य खेलको तुलनामा क्रिकेटले केही सफलता हासिल गरेको देखियो । नेपाल क्रिकेट सङ्घ (क्यान) भित्रको विवादका बाबजुत पनि खेलाडी र प्रशिक्षक पुबुदु दसानायकेको मेहनतका कारण क्रिकेटले सफलता हात पार्न सकेको हो । नेपाली क्रिकेटले सफलता हात पार्नुको पछाडि प्रत्येक खेलाडीको उत्तिकै महेनत र प्रदर्शन भने पक्कै छ ।
नेपाली क्रिकेटले सफलताको शिखर चढ्नुको पछाडि पारस खड्काको कुशल र अुनशासित कप्तानी नै हो । उनकै कप्तानीमा नेपालले यसैवर्ष नामिबियामा सम्पन्न आइसिसी विश्व लिग क्रिकेटअन्तर्गत ‘डिभिजन दुई’ मा चार पटक विश्वकप खेलिसकेको नेदरल्यान्डसलाई दुई विकेटले पराजित गर्दै ऐतिहासिक सफलता हासिल गरेको थियो । ‘डिभिजन दुई’मा नै उत्कृष्ट खेल प्रदर्शन गरेको नेपालले विश्व क्रिकेट लिग च्याम्पियनसिपमा खेल्न पाउने अवसरसमेत प्राप्त गरेको छ ।
कप्तान खड्काले नेपाली टोलीका प्रत्येक खेलाडीको मन सहजै जित्न सफल भएका छन् । त्यसैले उनी खेलाडीलाई सही ठाउँमा प्रयोग गर्छन् । जसका कारण नेपालले कमजोर संरचनामा पनि ठूलो सफलता हात पार्दै आएको छ । काठमाडौंमा जन्मिएका २७ वर्षीय कप्तान खड्काको उत्कृष्ट प्रदर्शनका कारण उनले यस वर्ष बेलायतको पुरानो ‘मेलबर्न क्रिकेट क्लब’ बाट टि–ट्वेन्टी प्रतियोगिता खेल्ने अवसरसमेत प्राप्त गरे । उनले भारतका पूर्व राष्ट्रिय खेलाडी युवराज सिंह तथा बेलायतका एलेष्टर कुकसँग संयुक्त अरब इमिरेट्स (दुबई) मा ‘टि–ट्वेन्टी’ क्रिकेट खेलेका थिए ।
लनटेनिस–संरक्षक : भुषण बज्राचार्य
यस वर्ष लनटेनिसमा नेपालले केही सफलता हासिल गर्न सफल रह्यो । जुनियर टेनिसतर्फ अन्तर्राष्ट्रिय प्रतियोगिता थुप्रै उत्साह जनक नतिजा देखा परे । नेपाली टेनिसलाई उपलब्धिमूलक बनाउने क्रममा संरक्षक भुषण वज्राचार्य अग्रपङ्क्तिमा रहे । भियतनाममा सम्पन्न ‘एसियन जुनियर टेनिस प्रतियोगिता’मा नेपालले तेस्रो हुँदा वज्राचार्यले एकल खेलमा छ मा जित हात पारे भने एकमा पराजय भोग्नु प¥यो । युगलमा रेन्जन लामासँग समेत उनको जोडी जमेको थियो ।
लगत्तै ‘एसियन लन टेनिस (एटिएफ)जुनियर टु’मा प्रवेश गरेका उनी एक पछि अर्को खेलमा उत्कृष्ट प्रदर्शन गर्दै ‘डिभिजन वान’मा प्रवेश गर्न सफल रहे । नेपाली टेनिसलाई नजिकबाट नियालेका एटिएफ दक्षिण पूर्वी एसिया हेर्ने प्राविधिक निर्देशक सुरेश मेननसहितको सहयोगमा उनले थाइल्यान्डमा डिभिजन वान खेल्ने तथा विशेष प्रशिक्षणको अवसर समेत प्राप्त गरे ।
कराँते : विमला तामाङ
इन्चोनमा सम्पन्न सत्रौं एसियाली खेलकुदमा नेपाललाई काश्य पदक दिलाउन सफल विमला तामाङ वर्ष २०७१ मा सबैभन्दा सफल नेपाली खेलाडीका रुपमा रहिन । दुई चिरामा विभाजित नेपाली करातेमा विमलाको पदक यस कारण पनि महत्वपूर्ण बन्यो की प्रतियोगितामा सहभागिताका लागि राज्यले तयार पारेको सूचीभन्दा उनी बाहिरकी खेलाडी थिइन् ।
नेपाल ओलम्पिक कमिटी र डब्लुकेएफबाट मान्यता प्राप्त नेपाल कराते महासंघको पहलमा विमलाले प्रतियोगिताको महिला एकलकातातर्फ पदक जितेकी हुन् । एसियाडमा पदक जित्ने उनी मात्र एक्ली खेलाडी थिइन । राज्यले तयार पारेको सूचीमा रहेका खेलाडीले भने कुनै पदक जित्न सकेनन् ।
कराँते प्रशिक्षक : ध्रुवबिक्रम मल्ल
बलाजु कराते एकडेमीका प्रमुख ध्रुवविक्रम मल्ल यसवर्षको सफल खेल प्रशिक्षकका रुपमा रहे । यसअघि एकेडेमीका उत्पादन सुनील लामा, लक्ष्मी भट्ट, अनु अधीकारी र मल्लीका थापाका अघिल्तिर ध्रुव छाँयामै परेका थिए । ध्रुवले उनकै एकेडेमीकी विमलालाई आफ्नै लगानी तथा पहलमा एसियाडमा सहभागी गराएका थिए । उक्त प्रतियोगितामा विमला नेपाललाई पदक दिलाउन सफल भइन् र नेपाली खेलकुद जगतमा निकै चर्चा बटुल्न पुगिन ।
भलिबल : प्रतिभा माली
विस २०७१ मा नेपाली खेलकुदमा भलिबलले अन्तर्राष्ट्रिय प्रतियोगितामा सोचेभन्दा अत्यधिक सफलता हात पा¥यो । काठमाडाँैमा सम्पन्न ‘प्रथम दक्षिण एसियाली महिला भलिबल च्याम्पियनसीप’मा नेपालले दोस्रो स्थान हात पा¥यो । त्यस्तै माल्दिभ्समा सम्पन्न बिच भलिबलमा नेपाली महिला टोलीले अब्बल खेल प्रदर्शन ग¥यो । दक्षिण एसियाली महिला भलिबलमा नेपालले दोस्रो स्थान हासिल गर्नुमा ‘न्यु डाइमन्ड भलिबल क्लब’की स्पाइकर प्रतिभा मालीको निकै ठूलो हात रहेको थियो ।
दक्षिण एसियाली महिला भलिबलमा सहभागिता जनाएका खेलाडीमध्ये उनी सबैभन्दा कान्छी खेलाडी थिइन् । त्यतिबेला उनको उमेर मात्र १३ वर्ष थियो । यसैवर्ष पोखरामा सम्पन्न खुला महिला भलिबल प्रतियोगितामा उनी ‘वेष्ट प्लेयर’ र अन्य प्रतियोगितामा ‘वेष्ट स्पाइकर’को उपाधिबाट सम्मानित भइन् । न्यु डाइमन्ड महिला भलिबल टोलीका प्रशिक्षक कुमार राइ भन्नुहुन्छ, “भलिबलका सम्पूर्ण प्रतियोगितामा प्रतिभा मालीको प्रदर्शन उत्कृष्ट रह्यो ।”
बुद्धिचाल : रुपेस जयसवाल
नेपाली बुद्धिचालमा नयाँ नायकको रुपमा उदाएका रुपेस जयसवालले काठमाडाँैमा सम्पन्न ‘एसियन जोनल थ्री प्वाइन्ट टु’ प्रतियोगितामा नौ चरणबाट ६ स्कोर गर्दै ‘फिडे मास्टर’को उपाधि जित्न सफल रहे । झापामा सम्पन्न चौथो ध्रुवतारा कपबाट लयमा फर्केका उनी काठमाडाँैमा उपविजेता समेत बने । उनले ढाकामा भएको ग्रान्डमास्टर प्रतियोगितामा पनि सानदार प्रदर्शन गरे । लगत्तै भारतको कोलाकातामा सम्पन्न ग्रान्डमास्टर प्रतियोगितामा पनि उत्कृष्ट प्रदर्शन गरेका थिए ।
जयसवालले एसियन जोनलमा समेत उत्कृष्ट प्रदर्शन गरे । काठमाडौँमै सम्पन्न सहकारी कपमा उनले रेटिङ दुई हजार २०० नाघे । नेपाल बुद्धिचाल सङ्घका उपाध्यक्ष एवम अन्तर्राष्ट्रिय आर्विटर ज्ञानेन्द्र खाइजुका जयसवाललाई यो वर्षको उत्कृष्ट खेलाडी रहेको बताउनुहुन्छ । “उनी भविष्यका आशलाग्दा खेलाडी हुन्” खाइजुको भनाइ छ ।
बास्केटबल : अनुसा मल्ल ठकुरी
नयाँ पुस्तामा बास्केटबल खेल निकै लोकप्रिय बन्दै गएको छ । यहाँका प्रत्येक विद्यालय र क्याम्पसमा बास्केटबल खेलले निरन्तरता पाउँदै गरेको छ । बास्केटबलमा नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएको यो वर्ष मात्र हो । नेपाली महिला बास्केटबल टिमले यस वर्ष कोरियाको एन्चोनमा सम्पन्न १७औँ एसियन खेलमा पहिलो पटक सहभगिता जनाएको थियो ।
लगत्तै नेपाली महिला टोलीले थाइल्यान्डको फुकेटमा सम्पन्न बिच गेममा समेत सहभागिता जनायो । पहिलो पटक एसियाडमा सहभागिता जनाएको महिला बास्केटबल टिमले खासै प्रदर्शन गर्न नसके पनि ब्यक्तिगत रुपमा भने टोलीकी सदस्य अनुषा मल्ल ठकुरीले उत्कृष्ट प्रदर्शन गरिन । उनले एसियाडमा काजकस्तान विरुद्धको खेलमा नेपालको तर्फबाट सर्वाधिक १२ अङ्क जोडेकी थिइन । एसियाडकै अन्य खेलमा समेत उनको प्रर्दशन आशलाग्दो रहेको थियो ।
फुटबल
नेपाली खेलकुद जगतमा सवैभन्दा लोकप्रिय खेल फुटबललाई मानिँदै आएपनि राम्रो नतिजा भित्र्याउन भने सकेको छैन । अखिल नेपाल फुटबल संघ (एन्फा) भित्रको विवाद र खेलाडीहरुको कमजोर प्रदर्शनका कारण नेपाली फुटबलको स्तर दिनानुदिन खस्कदै गएको छ । यसवर्ष नेपालको सिनियर टोलीले सहभागिता जनाएका पछिल्ला आठ खेलमा कुनै पनि गोल गर्न नसक्नु लज्जास्पद विषय बन्यो । तर व्यक्तिगततर्फ भने युवा खेलाडी विमल घर्तीमगरले अन्य खेलाडीको तुलनामा राम्रो प्रर्दशन गरे ।
उनी नेपालको तर्फबाट युरोपियन क्लबमा खेल्ने पहिलो फुटबल खेलाडीको रुपमा आफुलाई चिनाउन सफल भए । उनले बेल्जियमको ‘रोयल स्पोटिङ एन्डरलक क्लब’बाट खेल्ने सुनौलो अवसर प्राप्त गरेका थिए । नेपालले अन्तर्राष्ट्रियस्तरमा खेलेका सबै उमेर समूहको टोलीमा पर्न उनी सफल रहे । नेपालले खेलको अन्तराष्ट्रिय प्रतियोगितामा विमल प्रायः जसो स्ट्राइकरको रुपमा पहिलो रोजाई बने । यही कारण उनी नेपाली फुटबलका प्रतिभावान खेलाडीको रुपमा स्थापित छन् ।
क्रिकेट प्रशिक्षक : पुबुदु दासानायके
नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानाकेले नेपाली खेलकुदमा क्रिकेटलाई सफलता दिलाए । उनकै नेतृत्वमा नेपालले डिभिजन पाँच देखि डिभिजन दुईसम्म तथा विश्वकप टि–ट्वेन्टी’ क्रिकेट छनोट प्रतियोगिताको यात्रा तय गरेको थियो । उनकै सहयोगले आइसिसीका क्रिकेट विकास अधिकारीसमेत आएर नेपाली टोलीलाई प्रशिक्षण समेत दिएका थिए । नेपाल डिभिजन दुईबाट एकमा बढुवा हुन नसकेपनि उत्कृष्ट खेल प्रदर्शन गरेकै कारण उनकै पहलमा आइसिसीले नेपाललाई दुई वर्षको लागि ‘वल्र्ड लिग च्याम्पियनसिप’मा खेल्न पाउने अवसरसमेत प्रदान गरेको छ ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव युवराज लामाले २०७१ साललाई स्मरण गर्दै यस यस वर्षको खेलकुदमा नतिजा, पूर्वाधार निर्माण र समग्र अन्तर्राष्ट्रिय खेलकुद गतिविधि राम्रो भएको बताउनुभयो । ‘सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न नसक्नु दुःखद् पक्ष रह्यो’ उहाँले भन्नुभयो । गएको माघमा सञ्चालन गर्नुपर्ने भए पनि अर्थ मन्त्रालयले बजेट उपलब्ध नगराएका कारण प्रतियोगिता आयोजना गर्न नसकेको राखेप सदस्य सचिव लामाको भनाइ छ ।
Comments
Post a Comment