राष्ट्रिय प्रतियोगितताबिनै टोली छान्ने तयारी: T20 World Cup
काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) को चरम लापरबाही र गैरजिम्मेवार रबैयाले आगामी टिट्वेन्टी विश्वकप छनोट क्रिकेटअघि टिट्वेन्टी राष्ट्रिय प्रतियोगिता आयोजना नहुने भएको छ।
वैशाख १२ देखि आयोजना हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) लाई नै आधार बनाएर क्यानले टिट्वेन्टी विश्वकप छनोटका लागि बन्द प्रशिक्षण गर्न खेलाडी छान्ने तयारी गरेको छ।
नेपालले आगामी जुनमा एकदिवसीय स्वरूपको आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन च्याम्पियनसिप र जुलाईमा टिट्वेन्टी विश्वकपको छनोट खेल्ने कार्यक्रम छ।
यसअघि क्यानले टिट्वेन्टी राष्ट्रिय प्रतियोगितापछि मात्र ५० जना खेलाडीलाई छनोट गरेर यी दुवै प्रतियोगिताको तयारी थाल्ने जनाएको थियो। एकदिवसीय राष्ट्रिय प्रतियोगिता भने केही साताअघि भइसकेको छ।
क्यानका कार्यवाहक महासचिव उत्तम कर्माचार्य टिट्वेन्टी राष्ट्रिय प्रतियोगिता आयोजना गर्न प्रायोजक नेपाल टेलिकमसँग भएको सम्झौता तत्काल कार्यन्वयन गर्न नसकिने भएकाले एनपीएलकै आधारमा खेलाडी छनोट गर्न लागिएको बताए।
'नेपाल टेलिकमसँग भएको सम्झौताअनुसार टिट्वेन्टी राष्ट्रिय प्रतियोगिता आयोजना गर्न तल्लो स्तरदेखि नै छनोट प्रतियोगिता गर्नुपर्ने हुन्छ। यसका लागि हामीसँग समय छैन', कर्माचार्यले अन्नपूर्णसँग भने।
यसअघि टेलिकमसँगको सम्झौतापत्र आदानप्रदान कार्यक्रममा क्यानले वैशाख १० देखि टिट्वेन्टी राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने जानकारी दिएको थियो। स्रोतका अनुसार एनपीएल हुने भएपछि समय अभावका कारण टिट्वेन्टी राष्ट्रिय प्रतियोगिता गर्न गाह्रो भएको क्यानको ठम्याइ छ।
कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुनुअघि त्यही स्वरूपको राष्ट्रिय प्रतियोगिता आयोजना गर्नुपर्छ। यसले देशभर रहेका खेलाडीलाई राष्ट्रिय प्रतियोगितामा राम्रो प्रदर्शन गर्दै राष्ट्रिय टोलीमा स्थान बनाउने अवसर प्राप्त हुन्छ।
कुनै निजी संस्थाले आयोजना गरेको एनपीएललाई नै राष्ट्रिय टोली छनोटको आधार बनाउनु क्यानको गैरजि मेवारी हो। एनपीएलले देशभरका सबै प्रतिभावान् खेलाडी समेट्दैन।
राष्ट्रिय टोलीका पूर्वकप्तान पवन अग्रवाल अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि खेलाडी चयन गर्न राष्ट्रिय प्रतियोगिता अनिवार्य भएको बताउँछन्। 'नेपालमा जम्ममा एउटा राष्ट्रिय प्रतियोगिता हुन्छ।
त्यही प्रतियोगिता देशभरका खेलाडीका लागि आफ्नो क्षमता देखाउने स्थान पनि हो। राष्ट्रिय प्रतियोगिता नै आयोजना नगरी खेलाडी छान्नु नयाँ खेलाडीमाथि ठूलो अन्याय हो', उनले भने।
राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दासानायके पनि राष्ट्रिय टोली तयार पार्नुअघि टिट्वेन्टी राष्ट्रिय प्रतियोगिताको प्रतीक्षामा छन्। उनी एकदिवसीय र टिट्वेन्टी प्रतियोगितामा देखाएको प्रदर्शनका आधारमा ५० जना खेलाडी छनोट गर्ने तयारीमा छन्। एनपीएल वैशाख २१ गते सकिन्छ।
आगामी जुन १० र जुन १२ मा नेपालले स्कटल्यान्डसँग आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन च्याम्पियनसिप खेल्ने भएकाले चाँडोभन्दा चाँडो टिट्वेन्टी राष्ट्रिय प्रतियोगिता गर्न प्रशिक्षक दासानायकेले दबाब दिँदै आएका छन्।
नेपालले डिभिजन च्याम्पियनसिपअघि वैदेशिक प्रशिक्षणको तयारी पनि गरिरहेको छ। नेपालले अघिल्लो टिट्वेन्टी विश्वकपमा खेलेको थियो, जुन अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको अहिलेसम्मकै सबैभन्दा ठूलो सफलता हो। विश्वकपमा गरेको प्रदर्शनकै आधारमा नेपालले टिट्वेन्टी अन्तर्राष्ट्रियको मान्यता पाएको थियो।
Comments
Post a Comment