भुकम्पको पिडा बिर्साउन चाहन्छन् क्रिकेटर...

नेपाली क्रिकेट टिमका व्याट्सम्यान महेश क्षेत्री
 त्रिवि क्रिकेट मैदानमा प्रशिक्षणको क्रममा 
काठमाडौ, जेष्ठ १३ - आयरल्यान्ड र स्कटल्यान्ड सुहाउँदो पिचमा अभ्यस्त हुन तयारी सुरु हुने क्रममा थियो । त्यसका लागि त्रिवि क्रिकेट मैदान कीर्तिपुरको नेट्सको एउटा विकेटमा मार्बल बिछ्याइएको थियो । बाउन्सी विकेटमा नेपाली ब्याट्सम्यानलाई अभ्यास गराउन ।

जुलाईको पहिलो सातादेखि आयरल्यान्ड र स्कटल्यान्डमा हुने प्रतियोगिताका लागि नेपालको तयारी सुरु हुनै लागेको थियो । वैशाख १२ को महाभूकम्पले देशलाई मर्कायो । नेपाली खेलकुद पनि भूकम्पको चेपुवामा पर्‍यो । कीर्तिपुर मैदान घेरिएको पर्खाललाई पूरै लड्यो । पवेलियनहरू चर्किएका छन् ।

नेट्सको पूर्वतिरको भाग अघिल्लो साताको हावा हुरीले भत्काएर ढल्ने स्थितिमा पुर्‍याइदियो । त्यहीमुनि फास्ट बलिङमा ब्याट्सम्यानलाई तिर्खान मार्बल बिछ्याइएको थियो । प्रशिक्षक पुबुदु दासानायकेको यो योजना भूकम्प र त्यसपछिको हावाहुरीले सबै उडाइदियो । वैशाख १२ को भूकम्पमा उनी क्यानाडामै थिए । त्यसको केही समयपछि प्रशिक्षण सुरु गर्न उनी काठमाडौं आए ।

वैशाख २९ को भूकम्पले उनलाई पनि छोप्यो । भूकम्पले खेलाडीहरू मानसिक रूपमा उभिनसकेका थिएनन् । दासानायके एक हप्ता नबित्दै कम्पित भएर क्यानाडा फर्किन बाध्य भए । नेपाली टोली सोमबार भिसा प्रकृया पूरा गर्न र भारतीय क्रिकेट बोर्डको आतिथ्यतामा अभ्यास गर्न भारत जाँदैछ । दासानायके त्यसको २–३ दिनपछि क्यानाडाबाट भारत पुग्ने छन् ।

खेलाडीहरू आफ्नै हिसाबमा तयारी गरिरहँदा भूकम्पलाई बिर्सिएर ठूलो लक्ष्य बोकेको नेपाली टोली सोमबार अभ्यासमा फर्किएको छ । सहायक प्रशिक्षक विनोद दासले खेलाडीहरूलाई प्रशिक्षण दिइरहेका छन् । तर नेपाल क्रिकेट संघले निर्णय लिन नसक्दा विश्व ट्वान्टी–२० छनोटलाई को सहयाक प्रशिक्षक जाने निश्चित छैन् ।

राष्ट्रिय टोलीका कप्तान पारस खड्का देशमा के भइरहेको त्यो सबैलाई थाहा नै भएको र आफुले गर्ने काम सबैले गरीरहेको समयमा प्रशिक्षण सुरु भएको बताउँछन् । ‘हाम्रो जिम्मेवारी राम्रो खेलेर देशलाई जीताउनु हो । नेपालका लागि अर्को ठूलो मौका आउँदै छ विश्वकप खेल्ने,’ पारसले भने ।

आयरल्यान्ड र स्कटल्यान्डमा नेपाल शीर्ष ६ मा पर्न सके नेपाल लगातार दोस्रो पटक विश्व ट्वान्टी–२० मा छनोट हुनेछ । सन् २०१३ मा युएईमा भएको विश्व ट्वान्टी–२० छनोटमा तेस्रो हुदैं विश्वकपको ढोका खोलेको थियो । यो नेपाली खेलकुदकै ठूलो सफलता पनि थियो । अहिले नेपाली टोलीको प्रमुख लक्ष्य पनि त्यही नै रहेकोछ, जसले भूकम्पको त्रासमा रहेको नेपालीको अनुहारमा फेरि चमक ल्याउने विश्वास पारसको छ ।

‘असर सबैलाई पारेको छ । यसमा क्रिकेट खेलाडी पनि छन । तर सधै त्यसैलाई सम्झेर हुँदैन । त्यसबाट बाहिरिनु जरुरी छ । हामी पनि देशको प्रतिनिधि हौं । वितगको समयमा क्रिकेटले देशलाई नै एक सूत्र बनाएको थियो । फेरि पनि नेपाल क्रिकेटको तर्फबाट मैदानमा राम्रो खेलेर सानो खुसी ल्याउन सक्छौं भन्ने अहिलेको हाम्रो उद्देश्य नै हो,’ पारसले भने, ‘दु:खको समयबाट हामी गुज्रिसकेका छौं । दु:खपछि सुख आउँछ भनेजस्तै हामी विश्वकपमा स्थान बनाएर खुसी ल्याउनेछौं ।’

नेपाली टोलीले भारतको हिमाञ्चल प्रदेशको धर्मशालामा २ साता अभ्यास गर्नेछ । त्यसपछि स्वदेश फर्कि नेपाली टोली युरोप भ्रमणमा लाग्ने छ । विगतको भन्दा फरक कन्डिसनमा खेल्न परेकाले नेपाललाई यसपटक चुनौती सजिलो छैन । अझ भूकम्पले नेपाली टोली पूरै प्रभावित थियो ।

‘अघिल्ला पटक पनि हामीलाई सजिलो थिएन,’ पारसले भन्छन्, ‘राम्रो खेलेर हामीले विश्वकप खेलेका थियौं । यसपटक पनि राम्रो खेल्नुपर्नेछ । विगतको समयभन्दा अहिलेको समयमा टिमदेखि खेलाडीको स्तर बढेको छ, हरेक देशको तयारी राम्रो चलिरहेको छ, त्यसले गर्दा अझ राम्रो क्रिकेट खेल्नुपर्नेछ । टिममा क्षमता छ । पहिला पनि धरैले सोचेका थिएनन् हामीले विश्वकप खेल्छ भनेर । त्यसलाई हामीले गलत सावित गऱ्यौं । अहिले धेरैले आशा गरेका छन् त्यसैले जसरी हुन्छ हामी विश्वकपमा स्थान बनाउनेछौं ।’

Comments

Popular posts from this blog

Bayern manager Pep Guardiola calls Lionel Messi the 'best player of all time

Fixtures, ICC WCL Div- 2, 2015