टोलीमा पर्न यौनसम्पर्कको प्रस्ताव

फोटो: श्रीलंकाको खेलकुद मन्त्रालय
२०७२ जेष्ठ ११ सोमबार, कोलम्बो : श्रीलंकाको खेलकुद मन्त्रालयले यहाँको राष्ट्रिय महिला क्रिकेट टोलीका केही खेलाडीलाई टोलीमा पर्न बोर्ड पदाधिकारीले आफूसँग यौनसम्पर्क राख्नुपर्ने सर्त अघि सारेको खुलासा गरेको छ।

मन्त्रालयले बनाएको एक छानबिन समितिले महिला खेलाडीलाई यौनसम्पर्कका लागि बोर्ड पदाधिकारीले बाध्य बनाएको प्रमाण फेला परेको समाचारमा जनाइएको छ।

आफ्ना केही पदाधिकारीले महिला क्रिकेटरलाई राष्ट्रिय टोलीमा पर्न यौनसम्पर्कको लागि बाध्य बनाएको आरोप लागेपछि श्रीलंकाली क्रिकेट बोर्डले गत नोभेम्बरमा छानबिन समिति गठन गर्न निर्देशन दिएको थियो।

सर्वोच्च अदालतका पूर्वन्यायाधीशको संयोजकत्वमा गठित तीन सदस्यीय छानबिन समितिले मन्त्रालयलाई बुझाएको प्रतिवेदनमा महिला खेलाडीलाई यौनसम्पर्कको प्रस्ताव राखिएको आरोप सत्य भएको उल्लेख गरिएको छ।

'छानविन समितिले श्रीलंकाली क्रिकेट बोर्डका महिला व्यवस्थापन समितिका केही सदस्यले राष्ट्रिय महिला क्रिकेट टोलीका खेलाडीलाई यौनसम्पर्कका लागि बाध्य बनाएको प्रमाण फेला परेको' श्रीलंकाको खेलकुद मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

मन्त्रालयले दोषी व्यक्तिलाई कारबाहीको दायरामा ल्याइने पनि स्पष्ट पारेको छ।

गत अक्टोबरमा श्रीलंकाको एक अखबारले सिनियर महिला खेलाडीलाई उद्घृत गर्दै बोर्ड पदाधिकारीले टोलीमा पर्ने भए आफूसँग यौनसम्पर्क राख्नुपर्ने प्रस्ताव तेर्स्याएको खुलासा गरेको थियो।

ती सिनियर खेलाडी राष्ट्रिय टोलीबाट फालिएकी थिइन्। उनको आरोप थियो, 'बोर्ड पदाधिकारीको त्यस्तो अनुचित प्रस्ताव स्वीकार नगरेकाले म टोलीमा परिनँ।'

श्रीलंकाको राष्ट्रिय महिला क्रिकेट टोलीले गत बुधबार वेस्ट इन्डिजसँग ३-१ ले एकदिवसीय शृंखला गुमाएको थियो। -एजेन्सी

Comments

Popular posts from this blog

Bayern manager Pep Guardiola calls Lionel Messi the 'best player of all time

I would pay to watch AB de Villiers and Mitchell Starc: David Warner