क्‍यानको छनोटप्रति खेलाडीको असन्तुष्टि, कप्तान र प्रशिक्षक पक्षपाती भएको आरोप...

काठमाडौं: नेपाल क्रिकेट संघ (क्यान) ले आसन्‍न टिट्वेन्टी विश्वकप विश्वस्तरको छनोट र आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन च्याम्पियनसिपको तयारीका लागि २२ खेलाडी बन्द प्रशिक्षणका लागि छनोट गरेलगत्तै एक पूर्वअन्तर्राष्ट्रिय खेलाडीले गम्भीर आरोप लगाएका छन्।

लामो समय राष्ट्रिय टोलीका लागि खेलेका अनुभवी स्पिनर सञ्जम रेग्मीले राष्ट्रिय टोलीका कप्तान पारस खड्का र प्रमुख प्रशिक्षक पुबुदु दासानायकेले छनोटमा पक्षपात गरेको आरोप लगाएका हुन्।

'बन्द प्रशिक्षणमा परेका खेलाडीमध्ये तीनचार जनामात्र राष्ट्रिय टोलीका लागि योग्य छन्, त्यसबाहेक अन्य सबै कप्तान र प्रशिक्षकका कारण परेका हुन्, किनभने उनीहरूको सम्बन्ध क्यानसँग अहिले राम्रो छ।'

राष्ट्रिय टोलीमा पुनरागमन गर्न संघर्षरत सञ्जमले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन। उनले नरेश बुढाऐर, अमृत भट्टराई,रामनरेश गिरीलगायत खेलाडी टोलीमा नपर्नु दु:खद भएको बताएका छन्।

'हो, उनीहरूले अन्तर्राष्ट्रिय प्रतियोगितामा राम्रो गर्न सकेका छैनन् तर राष्ट्रिय प्रतियोगितामा भने राम्रो प्रदर्शन गरिरहेका छन्। त्यसमा पनि उनीहरू क्यानसँग केन्द्रीय सम्झौतामा छन्' सञ्जमको भनाइ छ।

उनले काठमाडौंभित्रका खेलाडीलाई क्यानले विशेष महत्त्व दिने गरेको आरोप पनि लगाएका छन्। 'सन् २००४ देखि काठमाडौंभित्रका खेलाडीले राष्ट्रिय टोलीमा विशेष प्राथमिकता पाउन थालेका छन्।

काठमाडौंभित्रका खेलाडीको प्रदर्शन कमजोर भए पनि उनीहरूलाई राष्ट्रिय टोलीबाट निकाल्ने आँट कसैले गर्न सक्दैन' उनको भनाइ छ।
लामो समयको अन्योलपछि क्यानले राष्ट्रिय टोलीको तयारी सुरु गरेको हो।

आगामी ९ देखि २६ जुलाईसम्म आयरल्यान्ड र स्कटल्यान्डमा टिट्वेन्टी विश्वस्तरको छनोट प्रतियोगिता आयोजना हुँदैछ। नेपालले डिभिजन च्याम्पियनसिपअन्तर्गत स्कटल्यान्डविरुद्धको अवे खेल २९ र ३१ जुलाईमा खेल्ने कार्यक्रम छ।

क्यानले एकदिवसीय राष्ट्रिय प्रतियोगिताका आधारमा डिभिजन च्याम्पियनसिपसँगै टिट्वेन्टी विश्वकप छनोटका लागि खेलाडी छानेको हो।

यसअघि यी दुवै प्रतियोगिताका लागि छुट्टाछुट्टै राष्ट्रिय प्रतियोगिता आयोजना गरी एकमुष्ट रूपमा ५० जना खेलाडी राष्ट्रिय टोलीका लागि छनोट गर्ने योजना क्यानको थियो। तर टिट्वेन्टी राष्ट्रिय प्रतियोगिता नभएपछि राष्ट्रिय टोलीको तयारी अन्योलमा परेको थियो।

विवादित नेपाल प्रिमियर लिग (एनपीएल) पनि नभएपछि क्यानले एकदिवसीय राष्ट्रिय प्रतियोगिताका आधारमा ५० जना खेलाडी छनोट गरेर तीनै खेलाडीबीच छनोट प्रतियोगिता गरी टोली बनाउने तयारी गरेको थियो।

तर अचानक विनाशकारी भूकम्प गएपछि क्यानको उक्त योजना पनि भताभुंग भएको थियो। सञ्जमले राष्ट्रिय क्रिकेटमा पछिल्लो समय कप्तान र प्रशिक्षक हावी हुने गरेको पनि आरोप लगाएका छन्।

'केही समय अघिसम्म घरेलु क्रिकेटको संरचनालाई लिएर क्यानको आलोचना गर्ने कप्तान र प्रशिक्षकले अहिले एकदिवसीय राष्ट्रिय प्रतियोगिताका आधारमा टिट्वेन्टीका लागि खेलाडी छनोट गरेका छन।सुरुमा ५० खेलाडी छनोट गर्ने भनिएकोमा अहिले २२ खेलाडीमात्र छानिएर बाँकी २८ जनालाई ठगिएको छ।' सञ्जमको भनाइ छ।

Comments

Popular posts from this blog

Bayern manager Pep Guardiola calls Lionel Messi the 'best player of all time

I would pay to watch AB de Villiers and Mitchell Starc: David Warner