अमेरिकी १ डलर बढेर को १ सय २ पूग्यो....
काठमाडौ, वैशाख ३१ - अमेरिकी डलरको मूल्यले बुधबार करिब १ सय ३ रुपैयाँ छोएको छ । भारतीय रुपैयाँलाई परेको असरले नेपालीमा पनि छोएको हो । बुधबार भारतमा डलरको मूल्य भारु ६४ रुपैयाँ १५ पैसासम्म पुगेको छ । यसले नेपाली बजारमा पनि डलरको मूल्य १ सय ३ को हाराहारीमा पुगेको हो ।
पछिल्लो २३ दिनदेखि बैंकले डलरको खरिद दर १ सय रुपैयाँभन्दा माथि तोकेका छन् । बैंकको बिक्री दरले प्रतिडलर १ सय रुपैयाँ नाघेको डेढ महिनाभन्दा बढी भएको छ ।
बुधबारका लागि राष्ट्र बैंकले डलरको खरिददर १ सय १ रुपैयाँ ९८ पैसा र बिक्रीदर १ सय २ रुपैयाँ ५८ पैसा तोकेको थियो । तर भारतीय बजारमा डलरको मूल्य थप माथि गएको छ । भारु र नेरुबीच स्थिर विनिमयदर छ । यसले भारतीय बजारमा देखिएको असर नेपालसम्म आइपुग्छ ।
डलरको मूल्य आकासिन थालेपछि विदेशबाट खरिद गरेर ल्याइने राहत सामग्री महँगो पर्ने देखिएको छ । टेन्टदेखि भूकम्पपीडितलाई आवश्यक अन्य वस्तु विदेशबाट आयात भइरहेको छ । यसका साथै तेस्रो मुलुक र डलर तिरेर भारतबाट ल्याइने उत्पादनको मूल्य पनि डलरसँगै बढ्छ ।
सबै प्रक्रिया र बैंकबाट प्रतीतपत्र खोलेर आयात गरिने वस्तुमा भने डलर महँगीको असर तुरुन्तै देखिंदैन । ‘नि:शुल्क आउने राहत सामानमा डलरको कुनै असर पर्दैन,’ राष्ट्र बैंकका प्रवक्ता मीनबहादुर श्रेष्ठले भने, ‘खरिद गरेर ल्याउनेमा असर पर्ने हो ।’ सामान्य अवस्थामा जस्तो आयातमा चाप नपरेको उनले बताए ।
तर बढेको डलरकै मूल्यका कारण विदेशबाट घर रेमिटेन्स पठाउनेलाई भने थप राहत मिलेको छ । डलर महँगो हुँदा मुलुक भित्रिने रेमिटेन्स बढ्ने गर्छ । राष्ट्र बैंकले पनि रेमिटेन्स भित्राउन सजिलो बनाउँदै ३ लाख रुपैयाँसम्म बैंक वित्तीय संस्थाले उपभोक्तालाई खाता नहुँदा समेत भुक्तानी दिन मिल्ने व्यवस्था गरेको छ । यो सुविधा आउन अगावैबाट रेमिटेन्स भित्रिने क्रममा केही सुधार देखिएको राष्ट्र बैंकले बताएको थियो ।
वैदेशिक रोजगारीमा रहेका नेपालीले पठाएको रेमिटेन्ससँगै विभिन्न मुुलुक र दातृ निकायले उपलब्ध गराइरहेको आर्थिक सहयोगले विदेशी मुद्रा भित्रिने क्रम बढेको छ ।
सामान्य अवस्थामा पनि विदेशमा रहेकाले डलरको मूल्य बढेको समयमा बढी रेमिटेन्स पठाउने गर्छन् । डलर बढ्दा निर्यातजन्य उद्योगलाई पनि फाइदा पुग्छ । तर भूकम्पले क्षति नपुर्याए पनि उत्पादनमूलक उद्योगबाट निर्यात बढ्ने सम्भावना छैन । पछिल्लो समय लगातार भारतीय मुद्रा डलरको तुलनामा कमजोर हुँदै गएपछि भारतीय रिजर्व बैंकले बजारमा हस्तक्षेप पनि गर्न थालेको छ । एक सातामा रिजर्व बैंकले २ देखि ३ अर्ब डलर बिक्री गरेको अनुमान गरिएको छ । खुला बजार विनिमय दरमा सिधै हस्तक्षेप गर्न नमिल्ने भएकाले यस्ता जानकारी सार्वजनिक गरिंदैनन् ।
केन्द्रीय बैंकले आफूसँग रहेको मौज्दात डलर बजार पठाएर माग घटाउने प्रयास गर्छ । ‘सेप्टेम्बर २०१३ पछिकै न्यून स्थानमा आएकाले रिजर्व बैंकले बजार हस्तक्षेप गरेको अनुमान गरिन्छ,’ भारतीय पत्रिका फाइनान्सियल एक्सप्रेसले समाचारमा उल्लेख गरेको छ ।
विश्लेषकका अनुसार भारतीय रिजर्व बैंकले अमेरिकी डलरलाई तोकेकै स्थानमा राख्ने गरी कुनै सीमा निर्धारण गरेको छैन । तर बजारमा डलरको अभाव वा अत्यधिक उपलब्धता नहोस् भन्ने चाहना छ । केही समयअघि भारतीय गभर्नर रघुराम राजनले ‘अत्यधिक बलियो भारतीय रुपैयाँ’ को आवश्यकता नरहेको बताएका थिए । एक दिनअघि न्युयोर्कमा अमेरिकी डलर आफ्ना प्रमुख प्रतिस्पर्धी मुद्राभन्दा कमजोर देखिएको थियो । तर उदाउँदा एसियाली अर्थतन्त्रमा डलरको मूल्य बढ्ने क्रममै छ ।
Comments
Post a Comment