हाइस्कोरिङ खेलमा पाकिस्तान विजयी
पाकिस्तानी क्रिकेटर: सोएब मलिक |
लाहोर (एएफपी), जेष्ठ १४ - सोएब मलिकले छ वर्षयता बनाएको आफ्नो पहिलो शतक मदतले पाकिस्तानले जिम्बावेविरुद्धको पहिलो डे–नाइट वान–डे मंगलबार राति ४१ रनले जित्यो र तीन खेलको सिरिजमा १–० को अग्रता लियो। दुई वर्षमा पहिलो वान–डे खेलिरहेका मलिकले ७६ बलमा १ सय १२ रन बनाए। त्यसमा १२ चौका र दुई छक्का सामेल थिए।
पहिले ब्याटिङ गरेको पाकिस्तानले तीन विकेट क्षतिमा ३ सय ७५ रन बनायो। पाकिस्तानले जिम्बावेविरुद्ध बनाएको अहिलेसम्मको उच्च स्कोर हो। कद्दाफी स्टेडियममा जिम्बावेले त्यसको जवाफमा ५० ओभर उपयोग गरेर पाँच विकेट क्षतिमा ३ सय ३४ रन बनायो। जिम्बावेले हारमा पनि सक्दो प्रयास भने जारी राख्यो। त्यसमा कप्तान एल्टन चिगुम्बुराले ९५ बलमा आक्रामक १ सय १७ रन बनाए।
अन्त्यमा जिम्बावेका लागि पाकिस्तानले तेर्साएको उच्च रनरेट बाधक सावित भयो। चिगुम्बुराले दस चौका र चार छक्का प्रहार गरे। उनको यो पहिलो वान–डे शतक हो। यो पाकिस्तानविरुद्ध जिम्बावेको पनि उच्च वान–डे स्कोर हो। यसअघि जिम्बावेले पाकिस्तानविरुद्ध सन् २००२ मा बुलावायोमा भएको खेलमा नौ विकेट गुमाएर २ सय ९५ रन बनाएको थियो।
चिगुम्बुराले तेस्रो विकेटका लागि ७३ रन बनएका ह्यामल्टन मासाकाड्जासँग १ सय २४ रनको साझेदारी गरे। त्यसयता उनले चौथो विकेटका लागि सिन विलियम्ससँग थप ७४ रन थपे। त्समा विलियम्सले ३६ रनको योगदान दिए। वाहब रियाजले ४५ औं ओभरमा चिगुम्बुराको विकेट लिए। रियाज पाकिस्तानका सफल बलर रहे। उनले ४७ रनमा तीन विकेट लिए।
यसअघि चिगुम्बुराको उत्कृष्ट स्कोर दक्षिण अफ्रिकाविरुद्ध बुलावायो मै दक्षिण अफ्रिकाविरुद्ध ९५ रन थियो। मलिकले भने अन्तिम पटक सन् २००९ मा भारतविरुद्ध सेच्टुरियमा शतक बनाएका थिए। यसपल्ट उनले ८६ रन बनाएका मोहम्मद हाफिजसँग १ सय ७० रनको प्रारम्भिक साझेदारी गरे। त्यसयता कप्तान अलीले पनि ७९ रन जोडे।
जिम्बावेविरुद्ध सन् २००७ मा जमैकामा बनाएको ३ सय ४९ रनको स्कोरलाई पाकिस्तानले अहिले उछिन्न सकेको हो। जितपछि पाकिस्तानी कप्तान अजर अलीले टिम भावनाले सफलता सम्भव भएको प्रतिक्रिया दिए। उनले भने, ‘हामीले राम्रो सुरुआत पायौं। मलिकले राम्रो खेले र अरू ब्याट्सम्यानले उनलाई बलियो साथ दिए। यो जित टिममा रहेको एकताले सम्भव भएको हो।’
उनका समकक्षी चिगुम्बुराले आफ्ना ब्याट्सम्यानको प्रशंसा गर्दै खेलमा चुक्नु पछाडि बलिङमा कमजोरी रहनु माने। उनले भने, ‘हामीले ठूलो लक्ष्य पछ्याउने क्रममा राम्रो गरेका थियौं, तर अन्तिम सात ओभरमा जति चाहिने हो, त्यति भने गर्न सकेनौं। व्यक्तिगत शतकमा सन्तुष्टि पनि छ। तर अर्को खेलमा राम्रो बलिङ नगरेर उपाय नै छैन।’ अब दोस्रो वान–डे शुक्रबार हुनेछ।
Comments
Post a Comment