पुबुदुको सम्झौता आज सकिँदै...

काठमाडौं-नेपाल सरकारसँग सोझै सम्झौता गरेर एकवर्षे राष्ट्रिय टोलीको प्रशिक्षक भूमिकामा फर्केका श्रीलंकाली मूलका क्यानाडेली प्रशिक्षक पुबुदु दासानायकेको सम्झौता मंगलबारबाट सकिँदैछ। हाल ट्वान्टी–२० विश्वकप छनोटको तयारीमा भारतको हिमाञ्चल प्रदेशमा राष्ट्रिय टोलीको नेतृत्व लिएर पुगेका दासानायकेले आफूलाई सोमबार साँझसम्म पनि नेपाल क्रिकेट संघ (क्यान) र युवा तथा खेलकुद मन्त्रालयले केही नभनेको बताए। 'क्यानका कार्यवाहक महासचिव उत्तम कर्माचार्यले आई विल टेक केयर भनेका छन्। तर, मलाई भोलिदेखि के हुन्छ भन्ने विषयमा केही थाहा छैन,' पुबुदुले सोमबार भने, 'केही समयअघि मन्त्रालयमा कुरा हुँदा सहसचिवले जुलाई १५ सम्मको सम्झौता हुनुपर्नेमा गल्तीवश जुन १५ भएको बताएका थिए।


मैले लिखित माग गर्दा अहिलेसम्म पाएको छैन। भोलिबाट म सम्झौताविहीन छु।' सम्झौता नवीकरणको इच्छाबारे सोध्दा उनले भने, 'मेरो आवश्यकता भए उनीहरूले सोच्नुपर्ने। तर उताबाट कुनै पहल भएको छैन। सम्झौता सकिएपछि मसँग भिसा पनि समस्या हुनसक्छ। अहिलेसम्म उनीहरू मेरो भिसाबारे पनि गम्भीर छैनन्। म सधैँ पर्यटक भिसामा आएर काम गरिरहेको छु।'

      नेपाल क्रिकेट संघ (क्यान) लाई किनारा लगाउँदै सरकारका तर्फबाट खेलकुद मन्त्रालयले असारमा पुबुदुसँगको सम्झौता एक वर्षलाई नवीकरण गरेको थियो। सरकार र पुबुदुबीच मासिक १० हजार डलर पारिश्रमिक तथा नेपाल बसाइका लागि थप २ लाख रुपैयाँ सरकारले उपलब्ध गराउने गरी सम्झौता भएको हो। नेपाली क्रिकेटमा राष्ट्रिय टोली र क्यानबीच विवाद भइरहेका बेला असारमा सरकार आफैले पुबुदुको सम्झौता नवीकरण गर्ने निर्णय गरेको थियो। 

    राष्ट्रिय खेलकुद परिषदका तत्कालीन सदस्यसचिव युवराज लामा, खेलकुदमन्त्री पुरुषोत्तम पौडेल, क्यान र राष्ट्रिय टोलीको चौतर्फी विवादको फाइदा उठाउँदै सरकारले यस्तो कदम चालेको हो। क्यानले भने एसियाली क्रिकेट परिषद (एसिसी) र अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) बाट आउने सहयोग रोकिएको बहानामा विदेशी प्रशिक्षकको भार थेप्न नसक्ने बताउँदै २९ महिना नेपाली टोलीको नेतृत्व लिएका पुबुदुलाई त्यसअघि फिर्ता पठाएको थियो।

       पुबुदु २०११ अक्टोबरमा पहिलोपल्ट मासिक ५ हजार डलर पाउने गरी ६ महिनाका लागि नेपाली राष्ट्रिय टोलीमा आएका थिए। उनको नेतृत्वमा नेपालले विश्व क्रिकेट लिग डिभिजन ४ र ३ मा उपाधि जित्नुका साथै एसिसी ट्रफीमा संयुक्त अरब इमिरेट्ससँगै संयुक्त विजेताको उपलब्धि हासिल गरेको थियो। नेपाललाई ट्वान्टी–२० विश्वकपमा छनोट गराउनुका साथै प्रतियोगितामा हङकङ र अफगानिस्तानमाथि विजय पाएपछि पुबुदुको तलब बढाएर मासिक ८ हजार डलर पुर्यााइएको थियो। ट्वान्टी–२० विश्वकपको त्यही प्रदर्शन नेपालले आइसिसीबाट असारमा ट्वान्टी–२० अन्तर्राष्ट्रियको मान्यता पाउनुको मुख्य कारण थियो।

Comments

Popular posts from this blog

PM Deuba urges people to stand adjoining feasible totalitarianism

Ten South Africa A players hospitalised in Chennai due to food poisoning | CSA