गर्मीसँगै बढ्यो क्यानोनिङको आकर्षण

घलेल (कास्की) : चर्को गर्मीसँगै पोखरामा क्यानोनिङ खेलको आकर्षण ह्वात्तै बढेको छ। कास्कीको घलेलमा गत वर्षदेखि सञ्चालनमा आएको क्यानोनिङ (छाँगारोहण) खेलप्रति युवामा आकर्षण बढेको हो। 
 
पोखरामा बिहानैदेखि चर्को घाम लाग्न थालेपछि एक सातादेखि छाँगोमा हाम फाल्न आन्तरिक पर्यटकको घुइँचो नै लागेको छ।
 
क्यानोनिङ खेलमा रमाउन आउनेमा युवायुवती बढी भएको क्यानोनिङ खेलका सञ्चालक राम गुरुङले बताए। 
 
वरिपरि हरियाली रूखबिरुवाको बीचमा रहेको कहाली लाग्ने चट्टाने छहरोमा डोरीको माध्यमबाट पानीमा भिझ्दै क्यानोनिङ गर्दा निकै रमाइलो अनुभव भएको पोखराबाट पहिलोपटक साथीसँग क्यानोनिङ गर्न पुगेका विष्णु पौडलले बताए। 
 
'चट्टाने भीर, त्यो पनि पानीमा डोरीको भरमा झुन्डिनुपर्ने। सुरुमा डर लागेको थियो। गर्मी मौसममा छहरामा भिजेर डोरीमा झुन्डिएपछि भने निकै रमाइलो लाग्यो', पौडेलले अनुभव सुनाए।
 
यसैगरी पहिलोपटक क्यानोनिङको अनुभव लिन पुगेकी रश्मि श्रेष्ठले यस खेलले सोचेभन्दा बढी आनन्द दिएको बताइन्। सुरुमा चिप्लो झरनामा कसरी झुन्डिने भन्ने कौतुहल थियो। कहाली पनि लागेको थियो तर डोरीमा झुन्डिसकेपछि धेरै रमाइलो भयो', श्रेष्ठले भनिन्।
 
पोखरा उपमहानगरपालिकाबाट १४ किलोमिटर उत्तरको ल्वाङघलेल गाविसस्थित घलेलमा रहेको यस छहराले अहिले स्वदेशी साहसिक खेलाडीलाई आकर्षित गरेको छ। 
 
एक सय ४६ मिटर अग्लो कुदी छहरामा साहसिक क्यानोनिङ खेलको गत वर्षमात्र सफल परीक्षण गरेर सुरुआत भएको हो। यहाँ एउटै छहराको दुई छुट्टाछुट्टै उचाइमा खेल खेलाइने गरिएको सञ्चालक गुरुङले बताए। 
 
यहाँ पहिलोपटक अनुभव लिनेलाई ४५ मिटर उचाइमा र व्यावसायिक क्यानोनिङ खेलाडीलाई ७५ मिटर उचाइमा खेल्न दिइन्छ। यस खेलका लागि हालसम्म ५० लाख रुपैयाँ लगानी गरिएको गुरुङले बताए।
 
घलेलमा पहिलो वर्षमात्र १७ सय आन्तरिक र एक सय बाह्य पर्यटकले क्यानोनिङ गरेका थिए। घलेल गाउँ अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने भएकाले यहाँ प्रवेश गर्न विदेशी पर्यटकले दुई हजार रुपैयाँ थप शुल्क तिर्नुपर्छ।
 
यसले गर्दा क्यानोनिङकै लागि पर्यटक कममात्र पुग्ने गरेको गुरुङको अनुभव छ। उनले क्यानोनिङका लागि आउने पर्यटकलाई थप दुई हजार रुपैयाँ शुल्कको बोझ नराखिदिए उत्तम हुने बताए।
 
यस खेलका लागि छुट्टाछुट्टै प्याकेजको व्यवस्था गरिएको छ। आफैं पुगेर क्यानोनिङ गर्ने नेपालीलाई दुई हजार रुपैयाँ र विदेशीका लागि ३५ सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ। प्याकेजमा पोखराबाट जाने, आउने, बे्रकफास्ट र लन्चसहितको व्यवस्था छ।
 
विश्वकै उत्कृष्ट अन्नपूर्ण पदमार्गअन्तर्गत मस्र्याङ्दी उपत्यका, भोटेकोसी क्षेत्र, सुनकोसी क्षेत्र तथा काठमाडौंको ककनी क्षेत्र क्यानोनिङका प्रमुख गन्तव्य मानिन्छन्। 
 
पछिल्लो समय कास्कीको घलेल गाउँ पनि प्रमुख गन्तव्यका रूपमा विकास भएको छ। सन् १९९० को दशकमा नेपालमा साहसिक खेल क्यानोनिङ भित्रिएको हो।

Comments

Popular posts from this blog

PM Deuba urges people to stand adjoining feasible totalitarianism

Ten South Africa A players hospitalised in Chennai due to food poisoning | CSA