दक्षिण अफ्रिकाको वर्ष क्रिकेटर घोषित, डे भिलियर्स फेरि वर्ष खेलाडी

२०७२ जेष्ठ २२ शुक्रबार, जोहानेसबर्ग : एबी डे भिलियर्स पुन: दक्षिण अफ्रिकाको वर्ष क्रिकेटर घोषित भएका छन्। अलराउन्डर डे भिलियर्सले यो अवार्ड लगातार दोस्रो वर्ष पाएका हुन्।

दक्षिण अफ्रिकाको क्रिकेट बोर्डले बिहीबार आयोजना गरेको कार्यक्रममा पछिल्लो समय उत्कृष्ट लयमा रहेका डे भिलियर्सलाई विजेता घोषणा गर्‍यो। उनले अन्य चार अवार्डसहित पाँचवटा जितेर कीर्तिमान बराबरी गरे।

यसअघि तीन खेलाडीले मात्र वर्ष क्रिकेटर अवार्ड दुईपटक पाएका छन्। मखाया एन्टिनी (सन् २००५,२००६), ज्याक कालिस (सन् २००४,२०११) र हासिम अमला (सन् २०१०, २०१३) मात्र दुईपटक दक्षिण अफ्रिकाको वर्ष खेलाडी घोषित भएका थिए।

सन् पोलक, डेल स्टेन, ग्रेम स्मिथ र भर्नन फिलान्डरले भने एक/एकपटक यो अवार्ड जितेका छन्।

डे भिलियर्सले एकदिवसीय वर्ष क्रिकेटर, क्रिकेटर्स क्रिकेटर अफ दी इयर, दक्षिण अफ्रिका फ्यान्स अफ दी इयर र 'सो गुड' अवार्ड पनि पाए। सन् २०१४ को अन्त्यतिर वेस्ट इन्डिजविरुद्ध सर्वाधिक थोरै बलमा एकदिवसीय शतक बनाएकोमा डे भिलियर्सले 'सो गुड' अवार्ड पाएका हुन्।

विभिन्न नौ विधामा अवार्ड प्रदान गरिएको थियो। वर्षको टेस्ट खेलाडी अवार्ड भने हासिम अमलाले जिते। यसअघि सन् २०१० मा अमलाले पाँचवटा अवार्ड जितेका थिए जुन भिलियर्सले पाउनुअघि एक्लो कीर्तिमानका रूपमा थियो। मर्न भान विकले टीट्वेन्टी वर्ष खेलाडी, स्टेनले डेलिभरी अफ दी इयर र रिली रोसुले न्यु कमर अफ दी इयर अवार्ड जिते।

दक्षिण अफ्रिका क्रिकेट बोर्डका प्रमुख हारुन लोर्गाटले भिलियर्सले गत वर्ष गरेको प्रदर्शनको खुलेर प्रशंसा गरे।

'उनी अहिले विश्वकै नम्बर एक अलराउन्डर हुन् भन्दा फरक पर्दैन। उनी वरीयताक्रममा टेस्टमा दोस्रो र एकदिवसीयमा शीर्ष स्थानमा छन्। उनको क्षमताबारे भन्न यही नै पर्याप्त छ', लोर्गाटले भने।

डे भिलियर्सको नाममा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा थोरै बलमा अर्धशतक, शतक र एक सय ५० रन बनाउने खेलाडीको कीर्तिमान छ।

Comments

Popular posts from this blog

Bayern manager Pep Guardiola calls Lionel Messi the 'best player of all time

Fixtures, ICC WCL Div- 2, 2015