नेपाली टिमको व्यवस्थापकमा अझै अन्योल अध्यक्ष, उपाध्यक्ष र कर्मचारी लन्डनतर्फ

काठमाडौ, असार २२ - राष्ट्रिय खेलकुद परिषद्ले रोक लगाए पनि नेपाल क्रिकेट संघ (क्यान) का प्रमुख कार्यकारी अफिसर छुम्बी लामा विश्व ट्वान्टी–२० छनोटमा सहभागी हुन उत्तरी आयरल्यान्ड लागेका छन्। सोमबार राति उनीसँगै क्यानका कार्यवाहक अध्यक्ष दीपक कोइराला र उपाध्यक्ष केशव घिमिरे पनि इतिहाद एयरबाट लन्डन लागेका छन्।

क्यानले पहिला उत्तरी आयरल्यान्ड, आयरल्यान्ड र स्कटल्यान्डमा हुने विश्व ट्वान्टी–२० छनोटमा कोइरालालाई टिम लिडर र लामालाई व्यवस्थापकका रूपमा तोकेको थियो। त्यसलगत्तै हुने स्कटल्यान्डसँगको विश्व क्रिकेट लिग च्याम्पियनसिप खेलका लागि उपाध्यक्ष घिमिरेले व्यवस्थापक बनाएको थियो।

तर असारको पहिलो साता काठमाडौंमा सम्पन्न नेपाली क्रिकेटको सर्वोच्च संस्थाको साधारणसभाले लामाको नाम अस्वीकृत गरेको थियो। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को वार्षिक साधारणसभामा नेपालको सहभागितालाई लत्याउँदै टिमसँग जाने कोइरालाको निर्णयको साधारणसभामै पनि विरोध भएको थियो।

नेपाली क्रिकेट इतिहासमै कोइराला टिमसँग जाने पहिलो अध्यक्ष भएका छन्। अध्यक्ष र महासचिवले मुख्यत: आईसीसी र एसियाली क्रिकेट परिषद् (एसीसी) को बैठकहरूमा भाग लिने गर्दछन्। अझ कोइरालाकै लागि पहिलोपटक नेपाली टिममा ‘टिम लिडर’ को पद खडा गरिएको थियो।

लामालाई व्यवस्थापक बनाउनबाट रोक्नुपर्ने भनेर क्यानका केन्द्रीय सदस्यहरू दिवाकर घले, सञ्जयराज सिंह र अमितवीर पाण्डेले खेलकुद परिषद्मा उजुरी हालेका थिए। जवाफमा परिषद्ले असार ८ गते क्यानसँग स्पष्टीकरण माग्दै लामालाई व्यवस्थापकका रूपमा पठाउन नहुने भन्दै पत्र काटेको थियो।

क्यानका कार्यवाहक महासचिव उत्तम कर्माचार्यले लामाको बारेमा आधिकारिक रूपमा केही थाहा नभएको बताए। ‘उनी टिमसँग कसरी बस्छन् ? आधिकारिक मान्छे होइनन् उनी,’ कर्माचार्यले भने, ‘क्यानमा बिदा लिएर बसेका छन्। आफ्नो हिसाबमा गएका होलान्, त्यसमा हामीलाई मतलब हुँदैन।’ साधारणसभामा कार्यवाहक अध्यक्ष कोइरालाको विषयमा विवाद भएपछि आफू नजाने बताएको क्यानका एक सदस्यले बताए। तर आइतबार बसेको क्यानको कार्यसम्पादन समितिको बैठकमा कोइरालाले आफू जाने भनेर इच्छा जनाएका थिए। त्यसमा अन्यले आफ्नो खुसी गर्नुस् भनेर जवाफ दिएका थिए।

नेपाली टिम इंग्ल्यान्डमा एक साता र नेदरल्यान्डमा ५ दिन बिताउँदै उत्तरी आयरल्यान्ड पुगेको हो। दुवै देशमा नेपाली टिम व्यवस्थापकविहीन थियो। नेदरल्यान्ड्समा नेपालले ४ ट्वान्टी–२०–२० अन्तर्राष्ट्रिय शृंखला खेल्दै विश्व वरीयतामा प्रवेशको ढोका खोलेको थियो। आईसीसीले अघिल्लो दिन विश्व ट्वान्टी–२० छनोटका बारेमा नेपाली टिमलाई सम्पर्क गर्नुपरेमा प्रशिक्षक पुबुदु दसानायके र टेक्निकल एनालिस्ट रमन सिवाकोटीलाई गर्नु भनेर उनीहरूको इमेल ठेगानासहित मिडिया रिलिज पठाएको थियो।

साधारणसभाले छुम्बीको नाम काटेपछि क्यानले सदस्य नरेश श्रेष्ठलाई नेपाली टिमको व्यवस्थापकमा पठाउने निर्णय गरेको थियो। तर ब्रिटिस भिसा नभएको र आयरल्यान्डको भिसा प्रक्रियामै रहेका कारण श्रेष्ठ गएका छैनन्। कार्यवाहक महासचिव कर्माचार्यका अनुसार अध्यक्ष कोइराला उत्तरी आयरल्यान्डको पहिलो चार खेलमा ‘टिम लिडर’ का रूपमा रहनेछन्। उनको आयरल्यान्डको भिसा नरहेकाले त्यसपछि उत्तरी आयरल्यान्डबाटै फर्किनेछन्।

श्रेष्ठको भिसा प्रक्रिया पूरा भएमा उनी बाँकी खेलका लागि व्यवस्थापक रहने कर्माचार्य बताउँछन्। श्रेष्ठको भिसा नभएमा उपाध्यक्ष घिमिरेले व्यवस्थापक सम्हाल्ने उनले जानकारी गराए। तर क्यानले घिमिरेको नाम विश्व ट्वान्टी–२० छनोटमा ‘हाइ पर्फमेन्स म्यानेजर’ भनेर पठाएको छ । तर स्वयं कर्माचार्य र घिमिरे आफूहरूलाई यसबारे केही थाहा नभएको बताउँछन्। कर्माचार्यले घिमिर अहिलेलाई आफ्नै खर्चमा गएको बताए।

पहिला व्यवस्थापक तोकेपछि आईसीसीले लामाको नाममा हवाई टिकट पठाएको थियो। तर लामाको नाम अस्वीकृत भएपछि क्यानले उनको नाम आधिकारिक टोलीबाट काटिसकेको कर्माचार्य बताउँछन्। तर क्यानका एक अधिकारीका अनुसार अहिले पनि लामाको नाम नेपाली क्रिकेटको संस्थाको लेटरप्याडबाटै आईसीसीमा गएको छ । उनका अनुसार क्यानमा मनपरितन्त्रको यो एक नमुनामात्र भएको बताए।

घिमिरेले भने, ‘म हचुवाको भरमा र बदनाम भएर आयरल्यान्ड जान्नँ। क्यानले तोकेमा मात्र आयरल्यान्ड जान्छु। आयरल्यान्डमा व्यवस्थापक भएर जानु नपरेमा म लन्डनमा बस्नेछु । त्यहाँ मेरा आफन्तहरू छन्। आयरल्यान्डबाट फर्किएपछि म टिम व्यवस्थापन गर्नेछु।’ उनले आफू लन्डनमा आफ्नै खर्चमा बस्ने बताए।

विश्व ट्वान्टी–२० छनोटमा आईसीसीले १९ जनाको सम्पूर्ण खर्च बेहोर्छ। हाल उत्तरी आयरल्यान्डमा रहेको नेपाली टोलीमा २२ जना छन्। त्यसमा १५ खेलाडी, प्रशिक्षक दसानायके, सहायक प्रशिक्षक विनोद दास, टेक्निकल एनालिस्ट रमन सिवाकोटी, ब्याटिङ कन्सलटेन्ट मोन्टी देसाई र भारतीय फिजियो छन्। ‘ब्याकअप’ खेलाडीका रूपमा लगिएका अविनाश कर्ण पनि नेपाली टिममै छन्।

Comments

Popular posts from this blog

Brazil Won by 2 Goal over Mexico with Nil Goal

Brazil leading by 2 goals