पारस र पुबुदुका नाममा एक नेपाली समर्थकको खुल्ला पत्र !

नेपाल क्रिकेट टीम: पारस र पुबुदु
प्रिय कप्तान पारस र कोच पबुदु, म एउटा क्रिकेट प्रेमी। क्रिकेटका लागि खाना छोड्छु। नेपालको खेल सुरु हुनुभन्दा एक महिना अघिदेखि नै मिनेट–मिनेट गन्न मनलाग्छ। नेपालले राम्रो खेल्दा मन यति फुरुङ्ग हुन्छ कि, म व्यक्त गर्न पनि सक्दिन। नेपालले पराजय बेहोर्दा खल्लो लाग्छ, राम्ररी सुत्न सक्दिन, टाउको दुख्छ र मनमा कत्ति पनि चैन हुन्न।

पछिल्लो दशकमा नेपालीलाई खुसी हुने मौका कसैले दिएको छ भने, त्यो नेपाली क्रिकेटले हो। यसमा तपाईं दुईको योगदानको जत्ति प्रसंशा गरेपनि सकिन्न। अझै याद छ, दुई वर्षअघि हङकङसँगको प्लेअफको त्यो म्याच। अन्तिम ओभरमा सरद भेसवाकरले सानदार प्रदर्शन गर्दै नेपललाई विश्वकपमा पुर्याएको दिन। त्यो अन्तिम ओभरभन्दा पनि खेल जितिसकेपछि हाम्रा प्रिय प्रशिक्षक पुबुदु छाति फुलाउँदै ड्रेसिङ रुमबाट निस्किएको क्षण सायद जिन्दगीमा कहिल्यै भुल्दिन। त्यो सारा क्रिकेटप्रेमी नेपालीका लागि अविस्मरणीय क्षण थियो। यसपटक पनि त्यही क्षणको प्रतिक्षा नभएको होइन। त्यो क्षणको मिर्गतृष्णमा आँखा यत्ति भोकाएको छ भन्ने सिमाना नै छैन।

यसपटक अझै हामीलाई खुसी चाहिएको थियो। निर्दयी भूकम्पले नेपालीलाई नराम्ररी पीडा दिएर गयो। यही पीडालाई भूल्न चाहन्थ्यौं हामी र अझै पनि चाहन्छौं। तर सधैँ खुसी आफ्नो भागमा नपर्दो रहेछ। थाहा छ, अहिलेसम्मको नतिजाबाट हामीमात्रै होइन तपाईंहरु पनि दुःखी हुनुहुन्छ ।

हामी घरमा बसेर कामना गर्छौं, तपाईंहरु मैदानमा सामना गर्नुहुन्छ । कामना भन्दा सामना निकै कठिन हुन्छ, त्यो पनि बुझेको छु । खेलाडीहरु सबैले आफ्नो तर्फबाट सक्दो प्रयास गरेका छन् । उनीहरुलाई गाली गर्ने ठाउँ छैन र गर्दिन पनि । कुनचाहीँ खेलाडी होला जो राम्रो प्रदर्शन गर्न नचाहोस् । कुनचाहीँ प्रशिक्षक होला जसले आफ्नो टिमलाई उपलब्धि दिलाउन प्रयास नगरोस् । यत्ति बुझ्दाबुझ्दै पनि कसैले तपाईंहरुलाई गाली गर्छ भने त्यो मूर्खतामात्रै हो ।

प्रिय कप्तान र प्रशिक्षक अब विषयमा प्रवेश गर्न चाहन्छु । बुधबार हङकङसँगको अनपेक्षित पराजयपछि रातभरी निन्द्रा लागेन । मनमा हुन्डरी चलिरह्यो । पीडा भूल्न धेरै प्रयास गरेँ तर सकिन । कुनै कुरामा धेरै क्रेजी भयो भने यस्तै हुनेरहेछ । क्रिकेट क्रेजी न परियो । रातभरी नेपाली खराब ब्याटिङको बारेमा सोचेँ । लाग्यो
त्यहाँको कन्डिसन नै नेपालीका लागि खराब छ । भारत– अष्ट्रेलियाजस्ता टोलीहरु पनि त युरोपमा गएर साविकको प्रदर्शन गर्न सक्दैनन्, चित्त बुझाउने प्रयास गरेँ, अझै मन मानेन।

त्यसपछि हाम्रो टिमको खराब प्रदर्शनबारे अर्को एउटा निष्कर्षमा पुगेँ । लाग्यो हामी फ्यानहरु एकदमै क्रेजी भयौं, देशमा जत्ति क्रिकेटको क्रेज बढ्दैछ, त्यत्ति नै खेलाडीहरुमा दायित्वबोध र दवाव पनि । हङकङ र नेपालबीच तुलना गरेँ । उसका एकद् बाहेकका अन्य सबै खेलाडी भारत/पाकिस्तानका छन् । आफ्नो देश विश्वकपको छनोट खेल्दैछ भन्ने उनीहरुका कति प्रतिशत नागरिकलाई थाहा होला ? एकिन तथ्य त कहाँबाट प्रस्तुत गरौं, अनुमान लगाउँछु, त्यस्तै २०/३० प्रतिशत । उनीहरुका लागि खुसी हुने धेरै बहाना छन् । अर्कोतर्फ विदेशबाट गएका खेलाडीहरु विशुद्ध व्यवसायीक सोचका साथ खेल्छन् । उनीहरुलाई आफ्नो व्यक्तिगत प्रदर्शन र पेशागत दायित्व बाहेक अन्य केही कुराको मतलब हुँदैन

मानौं आईपीएलमा विदेशी खेलाडीहरुले बलरहरुको धुलाई गरेजस्तो । मेस्सी/ रोनाल्डोले देशका लागिभन्दा क्लबका लागि राम्रो खेलेजस्तो । देशका लागि कनिकुथी ब्याटिङ गर्ने क्रिस गेलले आईपीएलको एउटै पारीमा डेढ सयभन्दा पनि बढी रन हानेजस्तो ।

यति धेरै उदाहरण दिएर मैले प्रष्ट्याउन खोजेको कुरा भनेको उनीहरुले निर्धक्क भएर खेलेका छन् भन्ने नै हो। हाम्रा खेलाडीहरुमा उनिहरुको भन्दा धेरै दायित्वबोध, दवाव र सपना छ, त्यसैले डराएर ब्याटिङ गर्छन्। अनावश्यक रिक्स लिँदा कतै सपना नै टुट्छ कि भन्ने डर छ, त्यसैले सुरुवातदेखि नै हाम्रो रनरेट निकै कमजोर हुन्छ । डराउँदै ब्याटिङ गरेपनि १३०/४० रन त बनाउनु पर्ने नि भन्ने सवाल उठ्ला। यसमा मेरो आफ्नै बुझाइ छ, डराउँदा- डराउँदै हाम्रा ब्याट्सम्यानहरु आउट हुन्छन्, किनकी कन्डिसन हाम्रो अनुकुल छैन।

प्रिय प्रशिक्षक,
अब हामीसँग एउटा आशाको त्यान्द्रो बाँकी छ । बाँकी दुबै खेल जित्ने र चौंथो हुँदै प्लेअफमा पुग्ने। त्यसका लागि अहिलेको जस्तै प्रदर्शनले हुनेवाला केही छैन । ब्याटिङमा हामीलाई धेरै आक्रामकता चाहिएको छ। कृपया जे पर्ला– पर्ला बाँकी दुई खेलमा आक्रामक क्रिकेट खेलिदिनुस् । ५० रनमा टिम अलआउट होओस्, हामी केही भन्दैनौं । तर पचास रन बनाउन ७ ओभर भन्दा बढी नलगाईदिनुस् । हो थाहा छ, आयरल्याण्डविरुद्ध हाम्रो टिमले आक्रामक रणनीति अख्तियार गरेको थियो, तर सफल भएन । त्यसलाई बिर्सिदिउँ । टी–ट्वान्टी भनेकै आक्रामकताको खेल हो । प्लिज फेरि एक पटक त्यो रणनीति अपनाइदिनुस् ।


हामी डराएर कसैले मायागर्नेवाला छैन । त्यसैले प्रिय प्रशिक्षक खेलाडीहरुलाई पहिल्यै ओभरमा छक्का हान्, भनेर क्रिजमा पठाईदिनुस् । बाँकी दुई म्याचमा गोर्खाली पारामा मुढे बल देखाउँ आए आँप, गए झटारो'।

प्रिय कप्तान,हामीले प्रयास नै नगरेको त कहाँ होर, प्रयास गर्दा– गर्दै नसकेको पो । पिर नमान्नुस् न यार, 'घोडा चढ्ने लड्छ' । प्रतियोगितामा आजसम्म हामीले के गर्यौं सबै बिर्सिदिनुस्, सोच्नुस् अब बाँकी तीन खेल लगातार जितेमा हामी विश्वकपमा पुग्छौं । हारेमा के होला, फ्यानले के भन्लान्, केही नसोच्दिनुस्, प्लिज आक्रामक खेलिदिनुस् । ६ रन हान्ने खेलाडी २० बल खेलेर स्ट्राइकमा बस्नुभन्दा एक बलमा छक्का हानेर जाओस्न बरु । यो टी–ट्वान्टी हो पारसजी । १२०/३० रन एकाद्बा हेकका खेलमा पर्याप्त होइन। त्यसैले कृपया १८० को लक्ष्य लिएर मैदान छिर्नुस् र १ सय ५० रन त बनाइदिनुस् । बाँकी दुई खेल हामी टेलिभिजनमा हेर्दैछौं। हामी हाम्रो टोलीले पुनःआक्रामक खेलेको हेर्न चाहन्छौं। केही बिग्रिएको छैन । हङकङले आयरल्याण्डजस्ता टोलीहरुलाई हराएर नेपालको चौंथो स्थान खोस्ला भन्ने कत्ति पनि लाग्दैन । त्यसैले कृपया बाँकी तीन खेल जितिदिनुस्, हामीलाई विश्वकपमा पुग्नबाट कसैले रोक्ने छैन। उही क्रिकेटलाई मायाँ गर्ने एक नेपाली

Comments

Popular posts from this blog

TU scraps connection to National Medical College

France 3 Argentina 2 : France leading by 1