‘आँखा चिम्लिंदै गरेको ब्याटिङ’

काठमाडौ, श्रावण ४ - विश्व ट्वान्टी–२० छनोटमा नेपालको फितलो प्रदर्शनले एकपछि अर्को कमजोरी देखाइदिएको छ। भनिन्छ, जितले सबै कमजोरी लुकाउँछ र हारले सबै उदाङ्गो पार्छ। आयरल्यान्डमा नेपालको प्रदर्शनले सम्झनलायक केही रहेन। यसले नेपाली क्रिकेटको भविष्यमाथि नै प्रश्नचिह्न उठाइदियो।
जित–हार खेलको एउटा अभिन्न पाटो हो। तर नेपालले अमेरिकासँग बाहेक अन्य कुनै पनि खेलमा जित्नका लागि खेल्ने क्षमता देखाएन। जर्सी जस्तो नवप्रवेशी टिमसँग नेपाल १/१ रनका लागि तड्पिरहेको थियो। टेलिभिजनमा देखिएको २ खेलमा नेपाली ब्याट्सम्यानले ब्याटिङ नै चलाउन नसकेको जस्तो देखियो। उनीहरूले विरलै अफ साइडमा प्रहार गर्थे। हरेक बल बाउन्ड्री हान्नुपर्छ भन्ने मानसिकता देखिन्थ्यो।
छनोटको ६ खेलमा कुनै पनि नेपाली खेलाडीले १ सय रन पनि बनाउन सकेनन् । पहिला ब्याटिङ गरेर नेपालले कुनै पनि खेलमा १ सय १० रनसम्म जोड्न सकेन। बरु आयरल्यान्डसँग नेपाल ५३ रनमै अलआउट भयो, जुन ट्वान्टी–२० अन्तर्राष्ट्रियकै दोस्रो न्यून स्कोर बन्यो । ज्ञानेन्द्र मल्लले अमेरिकासँग पहिलो खेलमा बनाएको अर्धशतक पूरै प्रतियोगितामा नेपाली ब्याटिङको एउटामात्र हेर्न लायक झलक थियो । त्यसमा अन्तिम खेलमा सिद्धान्त लोहनीका केही शटले आशाको संकेत देखायो ।
कन्डिसन हिसाबले नेपालका लागि त्यति सहज थिएन। विशेषगरी सिमिङ विकेट र घाँसे विकेटमा नेपाललाई अहिले पनि खेल्न गाह्रो हुन्छ। अझ आयरल्यान्डमा पहिला ब्याटिङ गर्न निकै कठिन मानिन्थ्यो। नेपालले अमेरिकासँगको खेल दोस्रोमा ब्याटिङ गरेर जितेको थियो। आयरल्यान्ड, पपुवा न्युगिनी, हङकङ र जर्सीसँगको लगातार चार खेल नेपालले पहिला ब्याटिङ गर्दा नै हारेको थियो । टस हारेपछि खेल नै हारिन्छ भन्ने मानसिकता नेपाली खेलाडीको देखिन्थ्यो ।
अन्य टिमको प्रदर्शन हेर्दा कन्डिसनलाई मात्र दोष दिने आधार देखिंदैन । १७ वर्षे जोन्टी जेनेरले नटआउट ९० रन बनाउँदा जर्सीले पहिला ब्याटिङ गरेर नामिबियाजस्तो टिमसँग १ सय ६१ रन बनाएको थियो । दाबेदार मानिएको आयरल्यान्डसँग हङकङले पहिला ब्याटिङ गरेर खेल जितेको थियो । नेपाली ब्याट्सम्यान भने विकेटमा टिक्नै सकेनन् । नेपाली ब्याट्सम्यान अफ स्टम्प बाहिरको बल पनि रोकेर खेल्थे । मानौं थर्ड म्यान गएको एक रन नियममा मान्य छैन । जर्सी जस्तो टिमले नेपाली ब्याट्सम्यानलाई कसरी ब्याट चलाउनुपर्छ भनेर सिकाइदिएको थियो ।
पपुवा न्युगिनी र जर्सीले बाउन्ड्री प्रहार गरेको एक रनपछि १ रन लिएर स्ट्राइक रोटेट गर्थे । राष्ट्रिय खेलाडी सञ्जम रेग्मीको भनाइ मान्ने हो भने नेपाली खेलाडीले ब्याट नै चलाउन बिर्सेका थिए । ‘सबै ब्याट्सम्यानको आफ्नो शैली हुन्छ । हाम्रो शैली मिडविकेटमा ब्याट घुमाउने मात्र थियो । केही वर्षअघि तल्लोक्रमका ब्याट्सम्यानले एकदिवसीय अन्तर्राष्ट्रियमा यस्तै गरी आँखा चिम्म गरेर ब्याट घुमाउँथे । यसले हामी प्राविधिक हिसाबले कति पछाडि छौं भन्ने देखाएको छ,’ सञ्जमको भनाइ थियो।
नेपालले जुन ब्याटिङमा परिवर्तन गर्न खोजेको थियो, त्यही नै ‘ब्याक फुट’ जानुको एउटा कारण बन्यो। नेपालले भारत भ्रमण सुरु भएसँगै सागर पुनको विकल्पमा ओपनर खोजिरहेको थियो । यस्तोमा ज्ञानेन्द्र मल्ललाई ओपनर पठाउने र विनोद भण्डारीलाई तेस्रो नम्बरमा खेलाउने नेपालको योजना थियो । विनोद तीव्र बलरको अगाडि निकै कमजोर मानिन्छन् । जबकि पछिल्लो समय नेपालले सुरुमै विकेट गुमाउँदा तेस्रो नम्बरका ब्याट्सम्यान पहिलो ओभरबाटै क्रिजमा पुग्ने स्थिति बनिरहेको थियो।
नेदरल्यान्ड्समा यो असफल भएपछि नेपालको ‘प्लान बी’ देखिएन । फेरि पुरानै जोडीमा फर्किन बाध्य भयो। नेपालले पछिल्लो चार खेलमा फरक ओपनिङ जोडी उतार्यो । नेपाली टिममा भएका १५ खेलाडीमध्ये ५ खेलाडीले ओपनिङमा ब्याटिङ गरे । कसैले आफू ब्याट्म्यान भएको प्रमाणित गर्न सकेनन् । फिल्डिङ पनि नेपालको त्यस्तै थियो । हङकङसँग नेपालले चार क्याच छाडेको समाचार आएको थियो । बलिङ नेपालको आधार थियो । हरेक खेल जस्तोमा नेपालले पहिलो वा दोस्रो ओभरममा विकेट लिंदै त्यो दक्षता फेरि देखायो । तर ब्याटिङबाट कुनै पनि खेलमा बलरले सहयोग नै पाएनन् र उनीहरू पनि प्रतियोगिताको शीर्ष प्रदर्शन गर्ने सूचीमा विलीन हुन पुगे ।
फितलो व्यवस्थापन:
उत्तरी आयरल्यान्ड पुग्नु अगाडि नेपालले जुन हिसाबले भ्रमण व्यवस्थापन गरेको थियो, त्यो निकै अस्तव्यस्त थियो । भारत भ्रमणबाट आएको ५ दिनपछि नेपाली टिम इंग्ल्यान्ड लागेको थियो । लन्डनमा नेपालले एक सातामा चार खेल खेल्यो। अन्तिम दिन नेपालले २ खेल खेल्यो । त्यही दिन लगभग १३–१४ घन्टाको यात्रा गरेर नेपाल नेदरल्यान्ड्स पुग्यो । एमस्टेलभिन पुगेको २ घन्टापछि नै नेपालले नेदरल्यान्ड्ससँग ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलेको थियो ।
नतिजा सामुन्ने थियो र यसले नेपालको बाँकी युरोप भ्रमणमा कस्तो प्रभाव पार्यो भन्ने पनि स्पष्ट भइसकेको थियो । क्यानका अधिकारीको भनाइ मान्ने हो भने यो त्यही भ्रमण थियो जसमा प्रशिक्षक पुबुदु दसानायके र कप्तान पारस खड्काले सहमति जनाएका थिए । भुल्नु नहुने के छ भने नेदरल्यान्ड्सको भ्रमण दसानायकेकै पहलमा भएको थियो । जसले नेपाललाई ट्वान्टी–२० अन्तर्राष्ट्रियको विश्व वरीयतामा उभ्याएको थियो । गत वर्ष जूनको अन्त्यमा नेपाललाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले
ट्वान्टी–२० अन्तर्राष्ट्रिय मान्यता दिएको थियो । तर नेदरल्यान्ड्ससँग खेल्नु अगाडि नेपालले केवल हङकङसँगमात्र एउटा ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल खेलेको थियो । यसले क्यानको व्यवस्थापनमा प्रशिक्षक र खेलाडीले विश्वास गर्ने वातावरण हराउँदै नै गइसकेको थियो ।
नेपाली खेलाडीले लामो भ्रमण गएर राम्रो खेल्न सक्दैनन् भनेर विगतको नतिजाले पनि देखाइसकेको थियो। झन् यसपटक दुई महिना लामो भ्रमण थियो । त्यसमा ६ देश पुगेर खेलेको थियो । वैज्ञानिक प्रशिक्षणमा प्रतियोगिता नजिकिंदै जाँदा अभ्यासको गति घटाएर खेलाइन्छ । तर नेपाली टिमले ठीक उल्टो १२ दिनमा ८ अभ्यास खेलेर उत्तरी आयरल्यान्ड पुगेको थियो । वर्षमा १–२ मात्र राष्ट्रिय प्रतियोगिता खेलेका भरमा अन्तर्राष्ट्रिय क्रिकेटमा उभिने नेपाली खेलाडीका लागि यही नै ठूलो बोझ बनेको देखियो ।
गत वर्ष न्युजिल्यान्ड भ्रमणमा पनि नेपालको तयारी यस्तै थियो । डेढ महिना विश्व ट्वान्टी–२० छनोटको तयारी । त्यसपछि तीन साता प्रतियोगिता ।
ट्वान्टी–२० विश्वकपमा छनोट भएर आएकै भोलिपल्ट जर्नी टु वल्र्डकप । अनि श्रीलंका र न्युजिल्यान्डमा अभ्यास खेल । त्यसपछि विश्वकप छनोट । यसले नेपाली खेलाडीलाई प्रतियोगितामा उत्रिनु अगाडि नै थकित बनाइसकेको थियो र नेपालले पहिलो खेल खेल्नु अगाडि नै पारस र सुवास घाइते भइसकेका थिए । त्यसबाट नेपालले केही पाठ सिकेन ।
विशेषगरी लामो भ्रमणमा जाँदा नेपाली खेलाडी गलिसक्ने, घाइते हुने गर्छन् । महत्त्वपूर्ण पक्ष नेपाली खेलाडीलाई खानपिनमै ठूलो समस्या देखिंदै आएको थियो । लामो भ्रमणमा आफ्नैपनको खाना नहुँदा पनि नेपाली खेलाडी स्वाभाविक प्रदर्शन गर्नबाट चुक्ने गरेका छन्। बाहिरबाट हेर्दा यो सानो पक्ष देखिए पनि यसले खेलाडीमा ठूलो
प्रभाव पारेको हुन्छ। भारतीय क्रिकेट टिमले ९० को दशकको सुरुमा इंग्ल्यान्ड, अस्ट्रेलियालगायत भ्रमणमा पूरै असफल हुँदा त्यसमा आफ्नोपनको खाना नहुनु पनि एउटा कारण भएको पाइएको थियो।
घरेलु क्रिकेटको प्रभाव:
२०१३ को नोभेम्बरमा नेपालले विश्व ट्वान्टी–२० छनोटको अघिल्लो संस्करण खेलेको थियो । त्यसबाट विश्वकपमा छनोट भएसँगै घरेलु प्रतियोगिताको संरचनामै ठूलो परिवर्तन ल्याउने क्रिकेट संघको हुंकार २ वर्ष बित्न लाग्दा पनि भाषणमै सीमित छ । नेपाल अहिले पनि पुरानै संरचनामा विश्वकप खेल्ने लक्ष्य बनाएर छनोट प्रतियोगिता खेल्न गएको थियो।
घरेलु क्रिकेटमा केही परिवर्तन नआएका होइनन्। जस्तो पहिला राष्ट्रिय प्रतियोगिता गरेर खेलाडी छानिन्थ्यो। अहिले सोझै छानिने गरेको छ। गत वर्ष नेपालले राष्ट्रिय प्रतियोगिता नै नगरी यू–१६ टिम छानेको थियो। अर्को महिना मलेसियामा हुने एसीसी यू–१९ कपका लागि पनि खेलाडी छनोट राष्ट्रिय प्रतियोगिताबिनै गरिंदै छ। अहिले हरेक क्षेत्रबाट २–२ खेलाडी मगाएर र पुरानो जम्मा गरी नेपाली यू–१९ टिम बनाइँदैछ। घरेलु क्रिकेटमा प्रतिस्पर्धाबिनै छनोट भएका खेलाडी कुन स्तरका निस्केलान् त्यो समयले नै बताउला। यसले नेपाली क्रिकेटको भविष्य कता जाँदैछ भन्ने पनि संकेत दिइरहेको छ।
एकदिवसीय राष्ट्रिय प्रतियोगिता खेलेको भरमा नेपाल ट्वान्टी–२० विश्वकप छनोट खेल्न गएको थियो, खेलाडी छनोट पनि त्यहीअनुरूप गरिएको थियो । हुन त नेपाल क्रिकेट संघसँग भूकम्पको बहाना हुन सक्छ। तर घरेलु प्रतियोगिता नै नखेली खेलाडीको प्रदर्शन खुल्दैन। घरेलु प्रतियोगिता खेलिसकेपछि एउटा लयमा आउँदा मात्र खेलाडीको प्रदर्शन क्रमश: बन्द प्रशिक्षण र भ्रमणमा खुल्दै जाने हो।
नेपाली टिममा पछिल्लो २ खेलमा ४ व्यवस्थापक थिए। नेपाली क्रिकेटको व्यवस्थापनमा यस्तो भीड विरलै देख्न पाइन्छ। आयरल्यान्ड एसोसिएटको बलियो टिम हो। उनीहरूको लक्ष्य टेस्ट खेल्नु छ। नेपाली व्यवस्थापकले कमसेकम उनीहरूको स्तर र क्रिकेट संस्कार प्रत्यक्ष हेरेर आएर के नेपाललाई विश्वकपमा फेरि पुर्याउने प्रयास गर्लान् ?
Comments
Post a Comment