बंगलादेशको उद्देश्य टेस्टमा सुधार...

टेस्ट शृंखलाको पूर्वसन्ध्यामा सोमबार ट्रफी प्रदर्शन गर्दै बंगलादेशका कप्तान 
मुस्फिकर रहिम (दायाँ) र दक्षिण अफ्रिकाका कप्तान हसिम अमला। पहिलो  
टेस्ट मंगलबार सुरु हुँदैछ ।तस्बिर : एएफपी
चटगाउँ, श्रावण ५ - बंगलादेशले पछिल्लो समय वान–डे क्रिकेटमा प्राप्त गरेको सफलतालाई टेस्ट क्रिकेटमा कायम राख्ने उद्देश्य बनाएको छ। बंगलादेशले मंगलबार सुरु हुने दुई टेस्टको सिरिजमा दक्षिण अफ्रिकाको सामना गर्दैछ। पाकिस्तान, भारत र दक्षिण अफ्रिकाविरुद्धको वान–डे सिरिज जितेको बंगलादेशले वान–डे विश्वकपमा पनि क्वाटरफाइनल यात्रा तय गरेको थियो।

तर टेस्ट क्रिकेटमा भने उसको प्रदर्शन कमजोर रहने गरेको छ। अहिलेसम्म बंगलादेशले खेलेका ९१ टेस्टमध्ये सातमा मात्र जित निकालेको छ। त्यसमध्ये पाँच अर्को कमजोर टिम जिम्बावे र दुई दोस्रो रोजाइ लिएर खेलेको वेस्ट इन्डिजविरुद्ध रहेको छ। सन् २०१३ यता बंगलादेशको टेस्ट प्रदर्शनमा पनि सुधार आएको संकेत भने मिल्न सुरु भइसकेको छ।

बंगलादेशले त्यसयता खेलका १६ टेस्टमा ६ खेल मात्र गुमाएको छ। त्यस पछाडि चार जितेको भने बाँकी बराबरीमा टुंगेको छ। त्यसबीच उसले पाकिस्तानलाई ३–० ले हराएको थियो भने भने श्रीलंका, न्युजिल्यान्ड, पाकिस्तान र भारतलाई बराबरीमा रोकेको थियो। यसपल्ट भने बंगलादेशसामु दक्षिण अफ्रिकाका रूपमा अझ बलियो चुनौती रहेको छ।

दक्षिण अफ्रिका टेस्ट क्रिकेटमा शीर्ष वरीयता प्राप्त टिम हो। ‘दक्षिण अफ्रिकाको सामना गर्दा हामीलाई ब्याटिङलाई मदत गर्ने पिच चाहिनेछ। यही हामीले चार सय रनको स्कोर बनाउन सक्ने हो भने बराबरीबारे सोच्न सक्छौं,’ बंगलादेशी प्रारम्भिक ब्याट्सम्यान इमरुल कयेस मान्छन्, ‘टेस्टको नम्बर १ टिमविरुद्ध बराबरी गर्न सक्छौं भने त्यो पनि ठूलै उपलब्धि हो।’

उनले थपे, ‘अहिले बंगलादेशी टिम राम्रो लयमा छ। हामीले घरमा भएका पछिल्ला चार वान–डे सिरिज लगातार जितेका छौं। अहिले वान–डे क्रिकेटमा हामीले राम्रो खेलिरहेका छौं र यही क्रमलाई टेस्टमा पनि कायम राख्न चाहन्छौं।’ दक्षिण अफ्रिकासामु भने वान–डे क्रिकेटमा बेहोरेको २–१ हारको बदला लिने अवसर हुनेछ। उसका फास्ट बलर डेल स्टेयन मान्छन्, ‘वान डे हारलाई बिर्सेर टेस्टमा राम्रो खेल्नुपर्ने हुन्छ।’

उनले भने, ‘वान–डे सिरिज गुमाउनुको पीडा हामीमा छ। अहिले टिम नयाँ संरचनाबाट गुज्रिरहेको छ। टिमका आठ खेलाडी नयाँ र युवा छन् । त्यसैले हामी टेस्टमा राम्रो खेल्न प्रेरित छौं। टिममा पुराना खेलाडी पनि उत्तिकै छन् र तिनको अनुभवबाट युवाले धेरै सिक्न सक्छन्।’ दोस्रो तथा अन्तिम टेस्ट जुलाई ३० देखि अगस्ट ३ सम्म ढाकामा हुनेछ।

Comments

Popular posts from this blog

Bayern manager Pep Guardiola calls Lionel Messi the 'best player of all time

I would pay to watch AB de Villiers and Mitchell Starc: David Warner