नेपाली टिममा व्यवस्थापकको ओइरो

काठमाडौं, श्रावण १ - विश्व ट्वान्टी–२० छनोटमा नेपाली टिमको व्यवस्थापकको हैसियतमा नेपाल क्रिकेट संघ (क्यान) का सदस्य नरेश श्रेष्ठ आयरल्यान्ड लागेका छन्। उनी बुधबार राति इतिहाद एयरबाट डब्लिन गएका थिए।

नेपाली टिम सम्हाल्न पुग्ने उनी चौथो अफिसियल हुन्। यसअघि नै नेपाली टिममा क्यानका कार्यवाहक अध्यक्ष दीपक कोइराला, उपाध्यक्ष विकास घिमिरे र प्रमुख कार्यकारी अफिसर छुम्बी लामा उत्तरी आयरल्यान्डमा थिए। उनीहरू नेपाली टिम बसेको ला मोन होटल एन्ड कन्ट्री हाउसको एकै कोठामा बसेका थिए।

नेपाली टिमसँगै उनीहरू बसमा बिहीबार दिउँसो डब्लिन पनि पुगेका छन्। अध्यक्ष नै टिम व्यवस्थापक भएर जान लागेको भन्दै कोइरालाको क्यानको साधारणसभामै ठूलो विरोध भएको थियो। उनलाई ‘टिम लिडर’ भनेर लगिएको थियो। नेपाली टिममा यो पहिलो पटक सिर्जना गरिएको पोस्ट थियो। कोइराला लन्डन हुँदै उत्तरी आयरल्यान्ड जाने बेलामा क्यानका महासचिव उत्तम कर्माचार्यले कार्यवाहक अध्यक्षको आयरल्यान्डको भिसा नरहेको र उत्तरी आयरल्यान्डबाट फर्किन जनाएका थिए। तर कोइराला बिहीबार आयरल्यान्ड पुगिसकेका छन्। डब्लिनमा हुने खेलका लागि क्यानले श्रेष्ठलाई व्यवस्थापक तोकेको थियो।

त्यस्तै असारको पहिलो साता क्यानको साधारणसभाले लामाको नाम अस्वीकार गरेको थियो। क्यानले छुम्बी गएकामा आधिकारिक थाहा नभएको जनाउँदै उनी अहिले बिदा रहेको बताएको थियो। साथै क्यानले लामा आधिकारिक व्यक्ति नभएकाले नेपाली टिमसँग नरहने जनाएको थियो। कार्यवाहक अध्यक्ष र उपाध्यक्षसँगै लन्डन लागेका छुम्बी नेपाली टिमसँगै होटलमा व्यवस्थापकको हैसियतमा रहेको टिम सूत्रले जनाएको छ।

उपाध्यक्ष घिमिरेले हचुवाको भरमा बदनाम भएर उत्तरी आयरल्यान्ड नजाने बताएका थिए। विश्व ट्वान्टी–२० छनोटपछि स्कटल्यान्डमा हुने विश्व क्रिकेट लिग च्याम्पियनसिपको २ खेलका लागि व्यवस्थापकमा तोकिएकाले घिमिरेले आफू विवाद भएमा उत्तरी आयरल्यान्ड नगएर लन्डनमै बस्ने जनाएका थिए।

क्यानले संघको खाताबाट रकम काटिने गरी कोइराला र लामाको टिकट बनाइदिनु भनेर अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) लाई पत्राचार गरेको थियो। आईसीसीले सोहीअनुरूप गरेको टिकट व्यवस्थापनमा कोइराला र लामा डब्लिनबाट जुलाई २६ मा स्वदेश फर्किने टिकट रहेको छ। नेपाली टिम भने विश्व ट्वान्टी–२० छनोटपछि विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्न स्कटल्यान्ड लाग्नेछ।

विश्व ट्वान्टी–२० छनोटमा आईसीसीले १९ व्यक्तिको सम्पूर्ण खर्च बेहोर्छ। श्रेष्ठ डब्लिन पुगेपछि नेपाली टिमको सदस्य संख्या फेरि २३ पुगेको छ। त्यसमा १५ खेलाडी, प्रशिक्षक पुबुदु दसानायके, सहायक प्रशिक्षक विनोद दास, टेक्निकल एनालिस्ट रमन सिवाकोटी, ब्याटिङ कन्सलटेन्ट मोन्टी देसाई छन्। ‘ब्याक अप’ खेलाडीका रूपमा लगिएका अविनाश कर्ण पनि नेपाली टिममै छन्। यौन दुर्व्यवहारको आरोप लागेका भारतीय फिजियो एजाज बसिर असाई भने बेलफास्टमै छन्।

Comments

Popular posts from this blog

TU scraps connection to National Medical College

Brazil leading by 2 goals