‘थापाले फुटको राजनीति गर्न खोजे’एन्फा–क्लब विवाद | Cricket

काठमाडौं, श्रावण १५ - अखिल नेपाल फुटबल संघ (एन्फा) ले मछिन्द्र र सरस्वती युवा क्लबलाई फुकुवा गर्दै हिमालयन शेर्पा र फ्रेन्ड्सलाई कुनै पनि फुटबल गतिविधिमा सहभागी हुन नपाउने कारबाहीलाई निरन्तर गरिएको निर्णयलाई ‘फुटको राजनीति’ गर्न खोजेको आरोप क्लब समन्वय समितिले लगाएको छ। एन्फा अध्यक्ष गणेश थापाको नेतृत्वमा आइतबार भएको बैठकले उक्त निर्णय गरेको थियो।

‘त्यस निर्णयले फुटाउ र राज गरको निरंकुशतावादी चरित्र प्रमाणित गरेको छ,’ समितिले बिहीबार विज्ञप्तिमार्फत जनाएको छ। समितिमा रहेका चारै क्लबका अध्यक्ष सरस्वतीका शिक्षित पराजुली (संयोजक), मछिन्द्रका जीवेन्द्र कर्माचार्य, फ्रेन्ड्सका रत्नशमशेर जबरा र एन्फाका उपाध्यक्षसमेत रहेका हिमालयन शेर्पाका कर्माछिरिङ शेर्पाले हस्ताक्षर गरेका छन्। ‘शाहीकालमा जस्तै अनुशासनसम्बन्धी आफंैले डण्डा चलाउने प्रपञ्च रचे पनि जस्तोसुकै चुनौतीविरुद्ध लड्दै उद्देश्य प्राप्त गर्ने संकल्प लिएका छौं,’ संयोजक पराजुलीले भने।

सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७० को पुरस्कार नपाएको भन्दै त्यसका लागि चार क्लबले समन्वय समिति गठन गरेर आवाज उठाएका थिए। पछि त्यही समूहले एन्फा नेतृत्वविरुद्ध आर्थिक अनियमितताको आरोप लगाएको थियो। एन्फाले आफ्नो स्वीकृतिबिना क्लब समन्वय समिति गठन गरेर फुटबलको विकासमा अन्योल सिर्जना गरेको आरोप लगाउँदै गत वर्ष भदौमा २०७१ साल एन्फाले फुटबल गतिविधिमा सहभागी हुन नपाउने गरी प्रतिबन्ध लगाएको थियो।

एसियाली फुटबल महासंघ (एएफसी) र अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले लिगका लागि पठाएको रकम उनीहरूको आँखामा छारो हाल्दै फछ्र्यौट गर्न मात्र लिग आयोजना भइरहेको आशंका गरिएको समन्वय समितिले उल्लेख गरेको छ। उसले एन्फा अध्यक्ष थापाको २० वर्षे कार्यकालको मूल्यांकन गर्ने बेला भइसकेको उल्लेख गर्दै एन्फालाई अगाडि बढाउन नयाँ सोच र संगठनलाई विकेन्द्रीकरण, पारदर्शिता र सामूहिक नेतृत्वका आधारमा सञ्चालन गर्न आवश्यक भइसकेको पनि जनाएको छ।

एन्फाले १६ भदौमा हुने नियमित साधारणसभाका लागि गरिएको पत्राचारमा आर्थिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वार्षिक कार्यक्रमसहितको एजेन्डा विधानविपीरत समावेश नगरेको आरोप पनि लगाएको छ। ‘निरंकुशता र एकल व्यक्तिवादी चिन्तनलाई अनुमोदन गर्ने जमर्को गर्दैछ,’ विज्ञप्तिमा भनिएको छ।

Comments

Popular posts from this blog

Bayern manager Pep Guardiola calls Lionel Messi the 'best player of all time

I would pay to watch AB de Villiers and Mitchell Starc: David Warner