विश्व टि-२० छनोट, किन हार्‍यो नेपाल? | Cricket



क्रिकेटर पारस खड्का भन्थें, ‘जितमा सबै खुसी हुन्छन्। जितले गल्ती छोपिदिन्छ र राम्रो कुरामात्र देखाउँछ, तर हारले सबै कमजोरी छताछुल्ल पार्छ।’ आयरल्यान्डमा जारी ट्वान्टी–२० विश्वकप क्रिकेट छनौटमा नेपालको प्रदर्शन खराब रह्यो। राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले भनेजस्तै उक्त प्रतियोगितामा नेपालको कमजोरी छताछुल्ल भयो। छनौटका ६ खेलमध्ये नेपालले एउटा खेल मात्र जित्न सक्यो। नेपाल समूहकै पुछारमा रह्यो। समूह ‘ए’ मा नेपालसहित नामिबिया, पपुवा न्युगिनी, आयरल्यान्ड, हङकङ, जर्सी र अमेरिका थिए। बिर्सनलायक हारपछि नेपालले भारतमा हुने ट्वान्टी–२० विश्वकपमा खेल्ने मौका गुमाएको छ। नेपालले बंगलादेशमा खेलेको क्रिकेटको छोटो संस्करणको यात्रालाई यसपटक कायम राख्न सकेन जुन सबै नेपालीका लागि दु:खको कुरा हो। क्रिकेटको सबैभन्दा बढी क्रेज भएको भूमिमा क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता खेल्न नपाउनु दुर्भाग्य नै हो। हारपछि त्यसको कारण खोतल्नु आवश्यक छ, जसले भविष्यका लागि मार्गनिर्देशन पनि गर्नेछ। बंगलादेशमा भएको विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै सबै नेपालीको मन जितेको नेपाली क्रिकेट आखिर किन ओरालो लाग्यो त ? यसका धेरै कारण हुन सक्छन्। सामान्य रूपमा हेर्दा नेपाल हार्नुको मुख्य पाँच कारण यसप्रकार छन् : 

क्यानको विवाद:नेपाल क्रिकेट संघ (क्यान) लामो समयदेखि विवादमा छ। यसलाई न सरकारले गम्भीरतापूर्वक लिएको छ, न क्रिकेटको विकासका लागि सही कदम नै चालिएका छन्। राष्ट्रिय टिमका खेलाडी तथा प्रशिक्षकलाई खेल एवं प्रतियोगिताले भन्दा बढी क्यानको विवादले सताइरहेको हुन्छ। खेलाडी जम्मा हुँदा आ–आफ्नो प्रदर्शनको होइन, क्यानकै विवादको चर्चामा रमाइरहेका हुन्छन्। क्यानमा क्रिकेटलाई केही दिनेभन्दा पनि क्रिकेटबाट सबै थोक लिने र मोजमस्ती गर्नेहरूको हालीमुहाली छ। क्यानका कतिपय पदाधिकारी सरकारी कार्यालयका करारका कर्मचारीजस्ता भएका छन्। सहरी विकास मन्त्रालयका सचिव अर्जुनबहादुर कार्कीले भने झै, ‘सचिव, मन्त्री, प्रधानमन्त्रीलाई निकाल्न सकिन्छ, तर हाम्रो देशमा यस्ता कर्मचारीलाई निकाल्न सकिँदैन।’ ठ्याक्कै त्यस्तै राजनैतिक संरक्षण पाएका क्यानका पदाधिकारीहरू क्रिकेटका धमिरा भएका छन्। उनीहरूलाई न त निकाल्न सकिन्छ, न त उनीहरू राम्रो काम गर्न सक्छन् । यो खेलाडीहरूका लागि सधैं चिन्ताको विषय बन्दै आएको छ। क्यानको विवादकै कारण नेपालको प्रदर्शन राम्रो नभएको मानवशास्त्री सुरेश ढकाल बताउँछन्। ढकाल भन्छन्, ‘व्यक्तिगत खेल भएको भए, संघको यस्तो विवादले खेलाडीलाई असर गर्दैनथ्यो, तर क्रिकेटमा यस्तो विवादले असर गर्छ।

भूकम्पको प्रभाव:नेपाली क्रिकेट टिमले आयरल्यान्डको ट्वान्टी–२० विश्वकप क्रिकेटको छनौटका लागि अभ्यास थालेको मात्र के थियो, वैशाख १२ मा ठूलो भूकम्प आयो। त्यसले नेपाली समाज र यहाँका आम जनतालाई जस्तै खेलाडीहरूलाई पनि असर गर्‍यो। उनीहरू अभ्यास गर्न नसक्ने स्थितिमा पुगे। दुई सातापछि अभ्यासको तयारी त भयो, तर २९ गते अर्को ठूलो भूकम्प आयो र खेलाडीहरू थप आतंकित भए। अभ्यास पूर्ण रूपमा अवरुद्ध भयो। नेपाली टिम अभ्यासका लागि भारतको धर्मशाला पुग्यो। आयरल्यान्ड पुग्नुअघि नेपालले इंग्ल्यान्डमा चार अभ्यास खेल र नेदरल्यान्ड्सँग चार ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट पनि खेल्यो। इंग्ल्यान्डको अभ्यास खेल २ जित र २ बराबरीमा टुंगियो भने नेदरल्यान्ड्सँग ३–१ को हार बेहोर्नुपर्‍यो। नोवैज्ञानिक असर हट्न सकेन। खेलाडी विदेशमा भए पनि उनीहरूको घर–परिवार नेपालमै छ। नेपालमा अहिलेसम्म भूकम्पपछिका पराकम्पहरू आइनै रहेका छन्। यस्तो स्थितिमा खेलाडीलाई मनोवैज्ञानिक प्रशिक्षण दिइएन। 

नयाँ खेलाडी उत्पादन नहुनु:सन् १९९६ मा नेपालले मलेसिया पुगेर अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न थालेदेखि उठेको कुरा हो, नेपालको कमजोर घरेलु संरचना । राष्ट्रिय टिम कति कमजोर वा बलियो छ त्यहाँको घरेलु क्रिकेट हेरेर थाहा पाउन सकिन्छ । उदाहरणका लागि भारत, अस्ट्रेलिया, इंग्ल्यान्डजस्ता देशका घरेलु क्रिकेट हेरे पुग्छ। नेपालमा जहिले पनि, जसले पनि घरेलु क्रिकेट संरचना कमजोर छ भन्दै आएका छन्, तर त्यसलाई सुधार्न सकिएको छैन । जुन नेपाली क्रिकेटको विडम्बना हो। कमजोर संरचनाकै कारण प्रतिस्पर्धा कम हुन्छ, कम खेलाडी उत्पादन हुन्छन् र सोचेजस्तो दक्ष खेलाडी फेला पार्न गाह्रो हुन्छ। त्यसैले टिम पनि कमजोर हुन्छ। 

भाग्यले सधैं साथ दिँदैन:नेपाली क्रिकेट टिमलाई विगत केही वर्षयता भाग्यले पनि साथ दिँदै आएको थियो। खेलाडी एवं प्रशिक्षकको मेहनतसँगै भाग्यको साथले नेपाली टिमले सफलता हात पारेको हो, तर नेपाललाई यस पटक भाग्यले पटक्कै साथ दिएन। प्रतियोगिताका सबै खेलमा नेपालले टस हार्‍यो। नेपालले खेल्दै आएको भन्दा फरक वातावरणमा खेल्नुपर्‍यो। अघिल्लो छनौटमा नेपालले युनाइटेड अरब इमिरेट्समा खेलेको थियो, जहाँ नेपाली ब्याट्सम्यान र बलरलाई खेल्न सहज थियो, तर युरोपको वातावरणमा नेपालले राम्रो खेल्न सकेन। 

नेपाली खेलाडीको स्तर: नेपाली टिमले बंगलादेशमा विश्वकप खेलेर त आयो, तर त्यसपछि खेलाडीहरूलाई थप बलियो बनाउन कुनै कदम चालिएन । नेपालको विपरीत विश्वकप खेलेका तथा नखेलेका अन्य टिमले विगत एक वर्षमा धेरै मेहनत गरे । नेपाली खेलाडीले विश्वकप खेलेको अनुभवका आधारमा आफ्नो स्तरमा केही वृद्धि त गरे, तर विदेशी खेलाडीले आफूमा नेपाली खेलाडीभन्दा बढी सुधार ल्याए। हाम्रा खेलाडी क्यानको विवादका कारण चिन्तामा रहँदा विदेशी क्रिकेटरहरू आफ्नो क्षमता वृद्धि गरिरहेका थिए। यद्यपि एउटा प्रतियोगिता हार्दैमा सबै कुरा समाप्त भयो भन्ने होइन। खेलाडीहरूले मेहनत गरेका छन्। अब केही वर्ष थप बढी मेहनत गरेर अघि बढ्नु आवश्यक छ। विश्वकप खेलिसकेको टिम फेरि त्यहाँ नपुग्दा सरकारले पनि चासो लिनुपर्छ। क्यानको विवाद सल्टाउनुपर्छ अनि मात्र नेपाली टिमले फेरि विश्वकप खेलेको हेर्न पाइनेछ।

Comments

Popular posts from this blog

Brazil Won by 2 Goal over Mexico with Nil Goal

Brazil leading by 2 goals