Player: शतकको भोका अनिल मण्डलको शतक...

काठमाडौ, श्रावण १५ - विश्व ट्वान्टी-२० छनोटमा गिरेको नेपाली क्रिकेट टिमको मनोबल बिहीबार ओपनिङ ब्याट्सम्यान अनिल मण्डलको विशेष शतकसँगै ब्युँझिएको छ । अनिलको शतक त्यो समयमा आएको छ, जतिखेर नेपालका प्रायः सबै ब्याट्सम्यान युरोप भ्रमणका अधिकांश खेलमा घुँडा टेकिरहेका थिए ।

अनिलको १ सय रनमा विश्व क्रिकेट लिग च्याम्पियनसिपमा आफ्नो पहिलो खेल खेलिरहेको नेपालले ३६ ओभरमा ५ विकेट गुमाई २ सय ३२ रन बनाएको थियो । त्यो पनि घरेलु टिम स्कटल्यान्डसँग आयरमा खेल जित्नका लागि बनाएको भन्दा ३ रन कम थियो ।

शतकसँगै अनिलले अनेकौं नेपाली कीर्तिमान आफ्नो नाममा लेखाए । जस्तो लिस्ट 'ए' मान्यता प्राप्त खेलमा शतक बनाउने पहिलो खेलाडी बने। यसअघि यस्ता मान्यता प्राप्त खेलमा नेपाली ओपनिङ ब्याट्सम्यानले अर्धशतक बनाउन पनि सकेका थिएनन् । राष्ट्रिय टिमबाट २ शतक बनाउने अनिल पहिलो खेलाडी पनि बनेका छन् । सन् २०१२ को डिभिजन ४ मा अनिलले मलेसियामा डेनमार्कविरुद्ध १ सय १३ रन बनाएका थिए ।

आयरल्यान्डमा विश्व ट्वान्टी-२० छनोटको निराशाजनक यात्रापछि नेपाली टिम स्कटल्यान्ड पुगेको थियो । प्रतियोगिताका ६ खेलमा नेपालका कुनै खेलाडीले कुल १ सय रन पनि बनाउन सकेका थिएनन् । अनिल आफैंले पनि ३ खेलमा मात्र मौका पाएका थिए । असफल खेलाडीको सूचीमा उनी पनि थिए । जर्सी लगायतको टिमसँग नेपाली ब्याटिङ धराशायी हुन पुगेको थियो ।

'आयरल्यान्डमा जे हुनु भइसकेको थियो, त्यो कुरा सोचेर बस्न मिल्दैनथ्यो,' अनिलले स्कटल्यान्डबाट कान्तिपुरसँग भने, 'मैले आफ्नै खेल खेल्ने सोच बनाएको थिएँ । पिचमा पनि बल राम्रो खेलिरहेको हुनाले मलाई आफ्नो शैलीको खेल खेल्न आत्मविश्वास मिल्यो । जितेको भए मलाई मेरो शतकको अर्कै महत्त्व हुन्थ्यो । मलाई पनि नेपाललाई जिताउँछु जस्तो लागेको थियो । तर अन्तिम ओभरमा आफैं आउट हुन पुगें ।'

नेपाललाई अन्तिम ओभरमा खेल जित्न १७ रन चाहिन्थ्यो । बलिङमा थिए सफियान सरिफ । उनले पहिलो बलमै अनिललाई आउट गरे । सोमपाल कामीले ३ बलमा ११ रन बनाए पनि नेपालले त्यो ओभरमा १३ रनमात्र बनाउन सक्यो । विश्व ट्वान्टी-२० को असफलतासँगै अर्को प्रमुख प्रतियोगितामा उत्रिरहेको नेपालको प्रदर्शनलाई अनिलको शतकले उकासिदिएको छ ।

प्रशिक्षक पुबुदु दसानायके अनिलको इनिङ्सलाई स्तरीय शतक भन्छन् । 'यो उत्कृष्ट इनिङ्समध्येको सबैभन्दा माथि पर्दछ,' दसानायकेले भने, 'हाई स्कोरिङ खेल भएकाले उनलाई रन बनाउन दबाब थियो । त्यसमा उनले उत्कृष्ट खेले ।' अनिलका लागि युरोप भ्रमण पुनरागमन पनि थियो । डेढ वर्षअघि न्युजिल्यान्डमा भएको एकदिवसीय विश्वकपपछि उनी नेपाली टिम बाहिर छन् । गत वर्ष विश्व ट्वान्टी-२० मा पनि अनिल वैकल्पिक खेलाडीका रूपमा मात्र बंगलादेश पुगेका थिए ।

राष्ट्रिय प्रतियोगितामा २ शतक बनाउँदै अनिलले राष्ट्रिय टिममा पुनरागमन गरेका थिए । राष्ट्रिय प्रतियोगितामा कुल ३ शतक हान्ने उनी एक्लो खेलाडी हुन् । उनका हरेक शतकमा कीर्तिमान जोडिएका छन् । शक्ति गौचन र शरद भेषावकरले पनि नेपालबाट उमेर समूहमा खेल्दै २ शतक बनाएका छन् । अनिलले दुवै शतक राष्ट्रिय टिमबाट खेल्दै बनाएका हुन् ।

'यो नेपालका लागि उत्कृष्टमध्येको एक इनिङ्स थियो । आयरल्यान्डको निराशाजनक प्रदर्शनबाट आएर शीर्ष टिमसँग त्यो पनि उनीहरूकै मैदानमा गरेको यो प्रदर्शन निश्चय पनि गर्व गर्न लायक क्षणमध्येको हो,' नेपाली टिमका सहायक प्रशिक्षक विनोद दासले भने, 'अझ महत्त्वपूर्ण भनेको उनले एकदिवसीय मान्यता प्राप्त टिमसँग यो इनिङ्स खेलेका छन् । उनको शतक नेपालको विजयसँग जोडिएको भए अझ विशेष हुन्थ्यो । त्यही पनि यो प्रयास गर्व गर्न लायक छ ।'

अनिलका सबै शतक कीर्तिमानसँग जोडिए पनि यो अर्को पाटोमा थियो । कुनै खेलाडीले शतक बनाएर पनि नेपाल हारेको यो दोस्रो खेल थियो । पारस खडकाले सन् २०१२ मा शतक बनाउँदा पनि कुवेतसँग नेपाललाई एसीसी ट्रफीमा जित दिलाउन सकेका थिएनन् । अनिल शतक नजिक पुग्दा पारसले उनलाई बलियो साथ दिएका थिए । यी दुईको प्रयासमा नेपालले ३६ ओभरमा २ सय ३६ रन बनाएर खेल जित्ने प्रयास गरेको थियो, जुन अन्य बेला नेपालको सन्दर्भमा असम्भवझैं लाग्थ्यो ।

Comments

Popular posts from this blog

Brazil Won by 2 Goal over Mexico with Nil Goal

Brazil leading by 2 goals