पूर्वाञचलमा राष्ट्रिय खेलकुदको खेल उत्सवको तयारी | Articles
काठमाडौं: विश्वका हरेक राष्ट्रले प्रतिभावान् खेलाडी उत्पादन गर्न नियमित रूपमा राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने गरेका छन्। खेलकुदका प्रतिभा सहरमा मात्र नभई देशका कुनाकाप्चामा पनि लुकेर रहेका हुन्छन् भन्ने मान्यतालाई आधार बनाएर यस्तो प्रतियोगिता आयोजना गर्ने गरिन्छ। राष्ट्रिय प्रतियोगिताभन्दा अघि देशको तल्लो तहदेखि नै छनोट प्रतियोगिताहरू आयोजना गर्ने गरिन्छ।
तल्लो तहका प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी खेलाडी क्रमशः छनोट चरण पार गर्दै मुख्य प्रतियोगितासम्म आइपुग्छन् । यसरी छनोट भएर आएका खेलाडीले राष्ट्रियस्तरमा चर्चित खेलाडीसँग प्रतिस्पर्धा गरेर आफ्नो क्षमता देखाउने अवसर पाउँछन्। त्यसैले राष्ट्रिय प्रतियोगिता भनेको नयाँ प्रतिभा खोजी गर्ने महत्वपूर्ण माध्यम हो। राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई लामो समयसम्म प्रशिक्षणमा राखेर सीप तिखार्ने कार्य गरिन्छ। त्यसपछि ती खेलाडीलाई विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराइन्छ। त्यसैले दक्ष तथा प्रतिभावशाली खेलाडी खोजी र उत्पादन गर्न हरेक राष्ट्रमा राष्ट्रिय प्रतियोगिताले महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ।
नेपालमा राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुन थालेको ३४ वर्ष पूरा भइसके पनि हालसम्म ६ वटा संस्करणमात्र हुन सकेको छ । प्रत्येक दुईदुई वर्षमा राष्ट्रिय खेलकुद आयोजना गर्ने भनिए पनि यसले निरन्तरता पाउन सकेको छैन। चरम आर्थिक समस्या, खेलकुदलाई अनुत्पादन क्षेत्रको रूपमा हेर्ने सरकारी मान्यता, राजनीतिको प्रत्यक्ष प्रभाव, खेल भावना भएका पदाधिकारीको अभावजस्ता कारणले नेपाली खेलकुदमा यस्तो समस्या देखिएको हो। राष्ट्रिय खेलकुद नियमित रूपमा आयोजना हुन नसकेका कारण नै देशमा प्रतिभावान् खेलाडीको अभाव देखिन्छ।
नेपालमा राष्ट्रिय खेलकुद प्रतियोगिताको इतिहास २०३८ सालदेखि सुरु भएको हो। सुरुमा राष्ट्रिय खेलकुद प्रतियोगितामा अञ्चलको अवधारणा अनुरूप खेलाडीबीच प्रतिस्पर्धा हुन्थ्यो। १४ वटा अञ्चलका टोलीले प्रतियोगितामा भाग लिन्थे र अन्त्यमा जुन अञ्चलका खेलाडीले सबैभन्दा बढी स्वर्ण पदक जित्यो त्यही अञ्चल राष्ट्रिय खेलकुदमा पहिलो हुन्थ्यो।त्यसपछि अञ्चलको अवधारणा हटाएर विकास क्षेत्रका आधारमा प्रतिस्पर्धा गराउन लागिएको हो। अहिले आएर पाँचवटा विकास क्षेत्रसँगै विभागीय टोलीलाई पनि राष्ट्रिय प्रतियोगितामा सहभागी गराइन्छ।
काठमाडौंमा सम्पन्न पाँचौं राष्ट्रिय खेलकुदमा त नेकपा माओवादीको भ्रातृ संगठनका रूपमा जनमुक्ति सेना (पीएलए) लाई पनि छुट्टै अस्तित्व दिएर सहभागी गराइएको थियो। त्यतिबेला यो विषयले ठूलै विवादको रूप लिएको थियो। जनमुक्ति सेनाका नाममा माओवादीलाई प्रतियोगितामा सहभागी गराइए आफूहरू प्रतियोगिताबाट बाहिरिने अडान नेपाली सेनाले लिएको थियो। अन्ततः तात्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनमा जनमुक्ति सेनालाई पनि प्रतियोगितामा सहभागी गराइयो भने जनमुक्ति सेनाले भाग लिएका पाँच खेलमा नेपाली सेनाका खेलाडी सहभागी भएनन्।
सोही कारणले नेपाली सेनाले २०६८ सालमा सुदूरपश्चिमाञ्चलको धनगढी र महेन्द्रनगरमा आयोजित छैटौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पनि सहभागिता जनाएन। माओवादीको भ्रातृ संगठन जनमुक्ति सेनाको समेत सहभागिता रहेको छैटौं राष्ट्रिय खेलकुदमा छुट्टै अस्तित्व दिएर विश्वविद्यालय टोलीलाई पनि समावेश गरिएको थियो। यसैगरी सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७० सालमा पूर्वाञ्चल विकास क्षेत्रमा आयोजना गर्ने भनिए पनि दोस्रो संविधानसभाको निर्वाचनका कारण प्रतियोगिता निर्धारित समयमा हुन सकेन। सरकारले आर्थिक वर्ष २०७१'७२ को वार्षिक बजेटमा समेत सातौं राष्ट्रिय खेलकुदका लागि रकम विनियोजन नगरेकाले २०७१ सालमा पनि सातौं राष्ट्रिय खेलकुदले मूर्तरूप लिन सकेन।
नियमित रूपमा राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्दा देशभित्र खेलकुदका नयाँनयाँ भौतिक पूर्वाधारसमेत बन्ने हुँदा सरकारले देशका विभिन्न भागमा क्रमैसँग प्रतियोगिता आयोजना गर्दै जाने नीति लिएको हुन्छ। हालसम्म काठमाडौंमा दुई पटक तथा पोखरा, वीरगन्ज, नेपालगञ्ज र सुदूरपश्चिमाञ्चलमा एकएक पटक राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना भएका छन्। अहिले आएर राष्ट्रिय खेलकुद परिषद्ले विभिन्न कारणले पटकपटक रोकिएको सातौं राष्ट्रिय खेलकुद आगामी मंसिरमा पूर्वाञ्चलमा आयोजना गर्ने भनी घोषणा गरेको छ। प्रतियोगिताका तयारी पनि अघि बढिसकेको छ। सातौं राष्ट्रिय खेलकुदलाई त्यसलगत्तै भारतमा आयोजना हुने दक्षिण एसियाली खेलकुद (साग) को तयारीका रूपमा लिइएकाले पनि यसको विशेष महत्व छ। प्रतियोगिताको समय नजिकिँदै जाँदा भौतिक पूर्वाधारलाई आधार मानेर प्रतियोगिता निर्धारित समयमा हुन नसक्ने चर्चा पनि सुनिन थालेका छन्।
अर्कोतर्फ राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव भने सातौं राष्ट्रिय खेलकुद निर्धारित समयमै हुने ठोकुवा गर्छन् । यसै सन्दर्भमा सातौं राष्ट्रिय खेलकुद आयोजना हुने पूर्वाञचलका विभिन्न स्थानमा भइरहेको प्रतियोगिताको तयारी र त्यसले स्थानीय खेलप्रेमीमा थपेको उत्साहलाई आधार बनाएर तयार पारिएको सामग्री।
Comments
Post a Comment