उपराष्ट्रपतिद्वारा सातौँ राष्ट्रिय खेलकुद समापन


मध्यपश्चिमाञ्चलमा भेट्ने वाचासँगै शुक्रबार पूर्वाञ्चलमा पहिलोपटक आयोजना भएको सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । उपराष्ट्रपति नन्दकिशोर पुनले बृहत् कार्यक्रमबीच धरानस्थित एन्फा टेक्निकल सेन्टरमा सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन गरेका छन् । ८ पुसदेखि सञ्चालित प्रतियोगितामा नेपाल आर्मीले सर्वाधिक स्वर्ण जितेको छ । प्रतियोगितामा नेपाल पुलिस दोस्रो र एपिएफ तेस्रो भएका छन् ।
पश्चिमाञ्चलको विरोध
राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले आठौँ संस्करण आयोजकलाई झन्डा हस्तान्तरण गरेका छन् । सदस्यसचिव विष्टले मध्यपश्चिमाञ्चल खेलकुद विकास समितिका भीम ओलीलाई हस्तान्तरण गरेका हुन् । परिषद्ले नवौँ संस्करण पश्चिमाञ्चलमा गर्ने निर्णय पनि शुक्रबार नै गरेको हो । यता, पश्चिमाञ्चलले नियम मिचेर मध्यपश्चिमाञ्चल क्षेत्रलाई दिएको भन्दै विरोध गरेको छ । पश्चिमाञ्चलका प्रतिनिधि दीपक गोदारले खेलकुदमन्त्री दलजित श्रीपालीको दबाबमा मध्यपश्चिमले आठौँ संस्करण आयोजना गन पाएको आरोप लगाएका छन् । ‘नियमअनुसार आठौँ संस्करण पश्चिमाञ्चलले पाउनुपर्ने थियो तर मन्त्रीको दबाबमा मध्यपश्चिमले आयोजना गर्ने अवसर पायो,’ गोदारले भने ।
कार्यक्रमस्थलमै विरोध
सदस्यसचिव विष्टले मन्त्री श्रीपालीको दबाबमा मध्यपश्चिमाञ्चलले आठाैँ संस्करण पाएको घोषणा गरेलगत्तै कार्यक्रमस्थलमा पश्चिमाञ्चलका प्रतिनिधिहरूले विरोध जनाए । पश्चिमका प्रतिनिधिहरूले समापन कार्यक्रममा केहीबेर अवरोधसमेत सिर्जना गरेका थिए । यता, परिषद्ले शुक्रबार बसेको बोर्ड बैठकले आठौँ संस्करण गर्ने पालो मध्यपश्चिमाञ्चलकै भएको जनाएको छ । ‘नियमअनुसार आठौँ संस्करण आयोजना गर्ने पालो मध्यपश्चिमकै हो, त्यसपछि मात्र पश्चिमाञ्चलको हो,’ बोर्डमा सहभागी एक सदस्यले नयाँ पत्रिकालाई भने, ‘यसमा कसैको दबाब थिएन ।’
पूर्वाधारविना प्रतियोगिता
परिषद्ले पाँच वर्षपछि पहिलोपटक पूर्वाञ्चलमा राष्ट्रिय प्रतियोगिता ग¥यो । तर, यसपटकको प्रतियोगिता अहिलेसम्मकै फितलो भएको देखिन्छ । परिषद्ले प्रतियोगिता सम्पन्न गर्नतर्फ मात्र ध्यान दिँदा भौतिक पूर्वाधारको खासै विकास भएन । पूर्वाञ्चलका झापा, मोरङ, सुनसरी, धनकुटा, उदयपुर, सप्तरीलगायत विभिन्न स्थानमा प्रतियोगिता भएका थिए । प्रतियोगिताको लागि पूर्वाधारमा खासै लगानी भएको देखिँदैन । भएकै पूर्वाधारलाई समेत सामान्य मर्मतसमेत नगरेको व्यापक गुनासो छ । यस्तै, व्यवस्थापकहरूको छनोटमा क्षेत्रले नै निर्णय गरेर खेलसँग असम्बन्धित व्यक्तिहरू राखिएको आरोप परिषद्माथि छ । सातौँ राष्ट्रिय खेलकुदका पाँचवटा प्रतियोगिता काठमाडौं र पोखरामा सम्पन्न भए ।
४ हजार खेलाडी सहभागी
प्रतियोगितामा ३० प्रतियोगितामध्ये सबैभन्दा बढी सुनसरीमा भए । सुनसरीमा सर्वाधिक ११ खेल सम्पन्न भएका छन् । जसमध्ये धरानमा ६, इटहरी तथा दुहबी गरी पाँचवटा खेल भएका छन् । सातौँ प्रतियोगितामा खाली खुट्टादेखि टेन्ट र पालसम्ममा खेलाइएको थियो । परिषद्का सदस्यसचिव विष्टले विभिन्न सञ्चारमाध्यममा आएका आलोचना स्विकारेका छन् । तर, उनले समापनको विषयमा धरानमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘ओलम्पिक खेलहरूमा पनि खाली खुट्टा र पालमा खेलाउने प्रचलन छ, यहाँ मात्रै होइन ।’ खेलाडी, अफिसियलको बसोबास व्यवस्थापनमा पनि व्यापक गुनासो आएको थियो ।
पूर्वाञ्चलको नतिजा ओरालो
पूर्वाञ्चलमै सम्पन्न भए पनि पूर्वाञ्चलले पदकतालिकामा त्यस्तो उल्लेखनीय योगदान दिन सकेन । पूर्वाञ्चल पदकतालिकामा अन्त्यतिर रह्यो । यसमा पनि विभागीय तीनवटा टिमको वर्चश्व रह्यो । सातौँदेखि सुरु गरिएको सेपाकताक्रोमा मात्रै पश्चिमाञ्चलले दुई स्वर्णसहित दुई रजत पदक हात पा¥यो भने अन्य खेलमा विभागीय टिम आर्मीकै वर्चश्व रहेको छ ।
फुटबलमा एपिएफ च्याम्पियन
धरान/सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको शुक्रबार अन्तिम दिन विभागीय क्लब एपिएफले महत्वपूर्ण स्वर्णपदक हात पारेको छ । एपिएफले प्रतियोगिताकै मुख्य इभेन्टका रूपमा रहेको फुटबलमा बाजी मार्‍यो ।
धरान–१७ स्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा एपिएफले नेपाल आर्मीलाई २–० ले हराउँदै स्वर्ण जितेको हो । नेपाल पुलिस क्लबले कांस्य हात पारेको छ । फुटबलका विजेताहरुलाई उपराष्ट्रपति नन्दबहादुर पुनले पुरस्कृत गरेका थिए ।
अञ्जनको दुई गोल
फुटबल स्पर्धामा एपिएफले स्वर्ण जित्ने क्रममा राष्ट्रिय टोलीका सदस्य अञ्जन विष्टले दुवै गोल गरेका थिए । उनले पहिलो हाफको १३औँ मिनेटमा र ३०औँ मिनेटमा गोल गर्दै एपिएफलाई जित दिलाए । दोस्रो हाफको २३औँ मिनेटमा आर्मीका विवेक बस्नेतको प्रहारलाई एपिएफका तोप विष्टले हेड गरेर बचाएका थिए । दोस्रो हाफको ३५औँ मिनेटमा दीप लामाको प्रहार गोलपोस्ट नजिकबाट बाहिरियो । आर्मीका नवयुग श्रेष्ठले ४१औँ मिनेटमा प्रहार गरेको बल पोलमा ठोकिएर फर्किएको थियो ।
स्वास्थ्यका कारण राष्ट्रिय प्रतियोगिता खेल्न पाइनँ
उपराष्ट्रपति पुनले आफू बिरामी भएका कारण राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाउन नपाएको बताएका छन् । प्रतियोगिताको शुक्रबार समापन गर्दै उपराष्ट्रपति पुनले हरेक राष्ट्रिय खेलकुद प्रतियोगिता नयाँ खेलाडी जन्माउने थलो बताएका छन् । उपराष्ट्रपति पुनले कुनै समय आफू पनि राष्ट्रिय खेलकुदका लागि छनोट भएको तर अस्वस्थ भएका कारण सहभागी हुन नसकेको खुलासा गरेका छन् । ‘कुनै समय म पनि राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि छनोट भएको थिएँ तर स्वास्थका कारण मैले प्रतियोगितामा सहभागिता जनाउन पाइनँ,’ उनले भने ।
पूर्वाधार विकासमा ध्यान दिनुपर्ने
उपराष्ट्रपति पुनले भूकम्पपछि खेल क्षेत्रमा धेरै क्षति पुगेको बताउँदै सम्बन्धित निकायले पूर्वाधारतर्फ जोड दिनुपर्ने ध्यानाकर्षण गराएका छन् । ‘हामीले खेलकुदका पूर्वाधार पनि विकास गर्नुपर्छ, अझ भूकम्पपछि खेल क्षेत्रका धेरै संरचना क्षति भए, पूर्वाधार विकासमा सम्बन्धित क्षेत्रले ध्यान दिनुपर्छ,’ उनले भने । खेलाडीको हौसला बढाउँदै उपराष्ट्रपति पुनले अनुशासित भएर खेल खेल्न सम्पूर्ण खेलाडीलाई आग्रह गरे । ‘अनुशासित फौजले मात्रै युद्ध जित्न सक्छ, त्यस्तै अनुशासित खेलाडीले मात्र खेलमा विजय हासिल गर्न सक्छ,’ उनले भने, ‘नयाँ खेलाडीले कीर्तिमानलाई आगामी दिनमा पनि कायम राख्नुपर्छ ।’

Comments

Popular posts from this blog

Brazil Won by 2 Goal over Mexico with Nil Goal

Brazil leading by 2 goals