चीनका राष्ट्रपति सि जिनपिङको भ्रमण तयारी
चीनका राष्ट्रपति सि जिनपिङको भ्रमण तयारीका लागि परराष्ट्रमन्त्री र परराष्ट्रसचिवस्तरीय दुईपक्षीय वैठक राख्न नेपालले प्रयास गरेको छ । परराष्ट्रमन्त्रालयले शुरुमा नेपाल–चीन परराष्ट्रचिव स्तरमा र त्यसपछि परराष्ट्रमन्त्री स्तरमा छलफल गरेर भ्रमणको पृष्ठभूमि तयार गर्नुपर्ने प्रस्ताब गरेको हो । सचिवस्तरीय वैठकका लागि नेपालले चिठी नै पठाइसकेको छ । राष्ट्रपति सि जिनपिङले आगामी मार्च-अप्रिलमा नेपाल भ्रमण गर्ने चर्चा भइरहेको छ । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले दुई तहमा भ्रमणका लागि आवश्यक पृष्ठभूमि तयार गर्न सरकार सक्रिय रहेको बताए । ‘ शुरुमा परराष्ट्रसचिव स्तरीय वैठक बस्छ, त्यसपछि परराष्ट्रमन्त्रीस्तरीय औपचारिक छलफल भएपछि राष्ट्रपतिको भ्रमणका लागि उपयुक्त वातावरण बन्ने छ । परराष्ट्रसचिवस्तरीय वैठकका लागि चीन सरकारलाई पत्र पठाएका छौँ’ मन्त्री महतले नयाँ पत्रिकासँग भने । गत असोज २९ गते भारतको गोआमा चिनियाँ राष्ट्रपति सिले प्रधानमन्त्री पचण्डसँग चाँडै नेपालआउने इच्छा व्यक्त गरेका थिए । उक्त भेटवार्तामा सामेल रहेका परराष्ट्रमन्त्री महतले राष्ट्रपति सिलाई स्वागत गर्न नेपालले तयारी गरेको पनि उल्लेख गरे । गत साता चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याललाई पनि चिनियाँ राष्ट्रपतिले नेपाल भ्रमण गर्ने इच्छा दोहोर्याएका थिए । त्यसअघि रक्षामन्त्री वालकृष्ण खाँडको चीन भ्रमणका क्रममा पनि चिनियाँ अधिकारीले राष्ट्रपतिको भ्रमण हुने तर उपयुक्त समय तय हुन बाँकी रहेको बताएका थिए । हालै नेपालभ्रमणमा आएका चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटव्युरो सदस्य लिउ छिपाओले पनि राष्ट्रपतिको भ्रमण गराउन चीन तयार रहेको बताएका थिए ।
Comments
Post a Comment