अवैध विदेशी मुद्रासहित तीन चिनियाँ पक्राउ
महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाले चार करोड ४० लाख रुपियाँ बराबरको अवैध विदेशी मुद्रासहित तीन चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । त्यतिका धेरै रकम बोकेर रसुवाको केरुङ जान आँटेका तीनजना शनिबार बिहान २:१५ मा नागढुंगाबाट पक्राउ परेका हुन् । पर्यटक बोक्न प्रयोग हुने वा ञ १ १२३२ को हरियो नम्बर प्लेटको स्कारपियो गाडीबाट ती विदेशी पक्राउ परेका हुन् ।
प्रहरीले पक्राउ परेका विदेशी नागरिकको साथबाट २ लाख ६० हजार ६ सय अमेरिकन डलर, एक लाख १८ हजार ६ सय १० युरो, केही स्वीस फ्र्याङ बरामद गरेको छ । प्रहरीले अवैध विदेशी मुद्रा लिएर रसुवाको केरुङ जान आँटेकाले यो घटनालाई सुन तस्करीसँग जोडेर अनुसन्धान थालेको छ । प्रहरी स्रोतले भन्यो, 'अवैध मुद्राको सम्बन्ध अवैध सुन तस्करीसँग हुनसक्छ । पछिल्लो एक महिनामा मात्रै प्रहरीले केरुङबाट तस्करी गरेर ल्याएको अवैध सुन दुईपटक बरामद गरिसकेको छ ।
विभाग प्रमुख एसएसपी सर्वेन्द्र खनालले पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको बताए । उनले भने, ‘यतिका धेरै रकम बोक्नुको प्रयोजन के थियो भन्नेमा अनुसन्धान केन्द्रित छ ।’
Comments
Post a Comment