सडक निर्माण कार्यले गति लिन सकेन
सडकको करिब दुई किलोमिटर क्षेत्रमा पहाड काटेर बाटो फराकिलो पार्नुपर्ने भएपछि सडक नै रोकेर काम थालिएको हो । पुस ७ गतेबाट हरेक दिन बिहान ११ देखि दिउँसो ३ बजेसम्म सडकको भित्तो काट्ने काम भइरहेको छ । आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार छोटो समय बाटो रोक्दा पहाड काट्ने कामले गति लिन सकेको छैन । बिहान ११ बजे सडकमा छिरेका सवारी साधन बाहिरिँदा करिब १ बज्ने गर्दछ । त्यसबीचमा अत्यावश्यक सवारीका नाममा एम्बुलेन्स, पर्यटक बस, कूटनीतिक नियोगका सवारीलगायत भनसुनमा धेरै सवारी छिर्ने गर्दछन् । मोटरसाइकल नियमित भएकाले पूर्ण रुपमा आधा घन्टा पनि पूरै सडक रोकेर काम गर्न कठिन भएको खनालले बताउनुभयो । सडक खुलेपछि हुने सवारी चापले अन्य समयको कामलाई पनि प्रभावित बनाएको छ । आयोजनाले आठ घन्टा सवारी रोक्न माग गरेको भए पनि स्थानीय प्रशासनले चार घन्टा मात्रै अनुमति दिएको थियो । अत्यावश्यकका नाममा धेरै सवारी नछोड्ने र कम्तीमा छ घन्टा बाटो रोक्न पाए चार घन्टा काम गर्न पाइने आयोजनाका प्रमुख इञ्जिनियर चन्द्रनारायण यादव बताउँछन् । सो सडकको ५० प्रतिशत काम सम्पन्न हुनुपर्ने अहिलेको समयमा ३३ प्रतिशतमात्रै काम भएको छ । सडकको १६ किलोमा ७५ मिटर अग्लो करिब ३०० मिटर लम्बाइ भएको पहाड काट्नु पर्नेछ भने घुमाउनेमा ४४ मिटर अग्लो १५० मिटर लम्बाइ भएको पहाड काट्नुपर्ने हुन्छ । चितवनका प्रमुख जिल्ला अधिकारी, नारायणप्रसाद भट्टले अत्यावश्यका नाममा अनावश्यक सवारी साधन प्रवेश गरेको भए त्यसलाई तत्काल रोकिने र कामले गति लिन नसके केही समय बढाएर भए पनि सडक छिटो निर्माण गरिने बताए । सडक विभागको योजना तथा डिजाइन महाशाखाले गरेको सर्वेक्षणअनुसार सो सडक हुँदै दैनिक छ हजार १७७ हाराहारीमा सवारी आवागमन हुने गर्दछ ।
Comments
Post a Comment