२४ घन्टा नबित्दै मुख्यमन्त्री अखिलेश यादवको कारबाही फिर्ता
उत्तरप्रदेशका मुख्यमन्त्री अखिलेश यादवलाई समाजवादी पार्टीले गरेको कारबाही फिर्ता लिएको छ । पार्टीलाई कमजोर बनाएको आरोप लगाउँदै समाजवादी पार्टीका प्रमुख मुलायमसिंह यादवले शुक्रबार छोरा तथा उत्तर प्रदेशका मुख्यमन्त्री अखिलेश यादवलाई पार्टीबाट निष्कासन गरेको घोषणा गरेका थिए । अखिलेशसँगै उनका काका तथा पार्टीका वरिष्ठ नेता रामगोपाल यादवलाई पनि पार्टीबाट निष्कासन गरिएको मुलायमले बताएका थिए । अखिलेशमाथिको कारबाही रद्द भएको अखिलेशका अर्का काका तथा मुलायमसिंहका भाइ शिवपाल यादवले बताए । कारबाहीमा परेका मुख्यमन्त्री अखिलेशले शनिबार पार्टी प्रमुख तथा बाबु मुलायमसँग भेट गरेका थिए । ‘पार्टीले मुख्यमन्त्री अखिलेशमाथि गरेको कारबाही रद्द गरेको छ । विधानसभाको आगामी निर्वाचनमा पार्टी थप एकजुट भएर जानेछ । पार्टीभित्र देखिएका सम्पूर्ण असमझधारी अन्त्य भएको छ,’ पार्टी नेता शिवपाल यादवले बताए । मुलायमसिंहसँगको भेटमा अखिलेशका विश्वासपात्र अजाम खानले अखिलेशविरुद्धको कारबाही रद्द गर्न मुलायमसँग आग्रह गरेका थिए । शनिबार दिउँसो अखिलेशले आफू समर्थक वि धानसभाका सांसद र नेताहरूलाई आफनै आवास लखनउमा भेट गरेका थिए । भेटमा अखिलेश समर्थक १९० जना सांसद उपस्थित थिए । शनिबार नै मुलायमसिंहले समाजवादी पार्टी कार्यालयमा बैठक आयोजना गरेका थिए । बैठकमा आगामी विधानसभाको निर्वाचनमा पार्टीका तर्फबाट उनले तयार पारेका उम्मेदवारहरूको सहभागिता थियो । बैठकमा २० जना सांसदको पनि उपस्थिति थियो । बाबुले छोरालाई कारबाही गरेसँगै समाजवादी पार्टी विभाजनको संघारमा पुगेको थियो । शुक्रबार साँझ पार्टीको आपतकालीन बैठक बसेको थियो । आगामी निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार तोक्ने विषयलाई लिएर पार्टीमा गहिरो मतभेद बढेको छ । निर्वाचनमा भावी मुख्यमन्त्रीको नाम अहिल्यै सार्वजनिक गर्ने कि नगर्ने विषयमा पनि लामो समयदेखि बाबु र छोराबीच मतान्तर देखिएको छ ।
Comments
Post a Comment