१५ केजी अवैध सुन बरामद
विमानस्थलबाट बाहिरिएको ३३ केजी सुन समातेको दुई साता पनि नहुँदै काठमाडौंको बालाजुबाट १५ केजी अवैध सुन बरामद भएको छ ।
बालाजु वृत्तका डिएसपी सन्तोष तामाङका अनुसार टाटा सुमो गाडीको चालक बस्ने सिट पछाडि एउटा बक्स बनाएर त्यसभित्र अर्को फलामे बक्समा सुन राखिएको थियो । वेल्डिङ गरेर बनाइएको फलामको बक्सभित्रको सुन पत्ता लगाउन पनि प्रहरीलाई घन्टौं लागेको थियो ।
रसुवाको केरुङ हुँदै आएको उक्त सुन आएको चालकको बयानबाट खुलेको छ । बरामद सुन बिस्कुट आकारका छन् र प्रत्येक विस्कुट एक केजी छन् । प्रहरी स्रोतका अनुसार चालकसँगै आएका एक व्यक्ति भने पक्राउ पर्नुअघि नै भाग्न सफल भएका छन् । डिएसपी तामाङले भने, ‘चालक विशुद्ध भरियाको रुपमा मात्रै प्रयोग भएको देखिन्छ ।’
सुन पठाउनेले सुन लगेर एकान्तकुना पुर्याउनु र गाडीको चाबी एकजना मान्छेलाई दिनु भनेर चालकलाई अह्राएको सूचना मात्रै प्रहरीले पाएको छ । डिएसपी तामाङले भने, ‘सुन लुकाएको बक्सको आकार र त्यो बनाएको तरिका हेर्दा यही गाडीले पहिले पनि यसैगरी कैयनपटक सुन ओसारेको देखिन्छ ।’ डिएसपी तामाङका अनुसार उक्त फलामे बक्सको वेल्डिङ हेर्दा निकै पुरानो देखिन्छ ।
Comments
Post a Comment