डा.केसीद्वार सहमति कार्यान्वयन नभए आन्दोलन गर्ने
सरकारले पछिल्लो समयमा सम्झौताहरु गरे पनि कार्यान्वयनमा आलटाल गरिरहेको भन्दै डा.गोविन्द केसीले आपत्ति प्रकट गरेका छन् । उनले ती सहमतिका बुँदाहरु सरकारले कार्यान्वयन नगरे फरक विकल्पसहित निर्णायक आन्दोलनमा होमिने पनि बताएका छन् र सरकारले पालना गर्नु त परै जाओस्, सहमति र सुधार अभियान प्रतिकूल हुने गतिविधिहरु गरिरहेको पनि बताएका छन् ।
मेडिकल कलेजलाई सम्बन्धन दिने अधिकारसमेत संस्थानबाट खोसेर त्रिविले लिने कोसिस गरेको उनले जनाए । डा.गोविन्द केसीले विद्यार्थी भर्ना र शुल्कसम्बन्धी चिकित्साशास्त्र अध्ययन संस्थान फ्याकल्टी बोर्डको अधिकार खोसेर त्रिविको कार्यकारी परिषद्ले उक्त अधिकार लिइ नाजायज चलखेल गर्ने प्रयास गरिरहेका छन । अनसनमा भएको सम्झौताअनुसार दुई साताभित्र गठन गर्नुपर्ने विश्वविद्यालयका पदाधिकारीको अझैसम्म गठन नभएकोमा पनि उनले दु:ख व्यक्त गरे ।
‘संसदमा चिकित्सा शिक्षा ऐन विचाराधीन भएको महिनौ बितिसक्यो, त्यसलाई माथेमा प्रतिवेदनको मर्मअनुरुप पारित गर्नुको सट्टा त्यसको अंगभंग गर्ने वा अघि नै नबढाउने प्रयास भइरहेको छ,’ केसीले भने । सातै प्रदेशमा न्यूनतम एउटा सरकारी मेडिकल कलेज खोल्ने सहमतिमा पनि कुनै काम नभएको उनी बताउँछन् ।
‘एमबीबीएस भर्नामा अरबौंको कालोबजारी गरेर अयोग्य विद्यार्थी भर्ना गरिँदासमेत सरकार मौन रहेर योग्य, जेहेन्दार विद्यार्थीलाई शिक्षाबाट वञ्चित गरेको छ,’ उनले भने । निजी मेडिकल कलेजहरुले ब्रम्हलुट मच्चाइरहेको भन्दै उनले भने, ‘सरकारले यसलाई नियन्त्रण गर्नुको सट्टा प्रोत्साहन गरिरहेको छ ।’
निजी मेडिकल कलेज र राज्यमा भएका उनीहरुका प्रतिनिधिले गत ५ वर्षमा थालिएका सुधारका अनेक प्रयासहरुलाई असफल प्राय: पारेको पनि उनले बताए । ‘निजी मेडिकल कलेजले विद्यार्थी पढाउने नभई डिग्री बेच्ने काम गरेका छन् । वर्षेनी हजारौं अयोग्य र डिग्री खरिद गरेका डाक्टर बनाउने कारखानामा ती परिवर्तित भइसकेका छन्,’ उनी आरोप लगाउँछन् । नेपालीको स्वास्थ्य र ज्यान नै खतरामा पार्ने काम आफूलाई कुनै पनि रुपमा स्वीकार नरहेको समेत केसीले बताए ।
Comments
Post a Comment